थारु साहित्यिक मेला

इनेप्लिज २०७३ वैशाख ४ गते ५:४५ मा प्रकाशित

दाङ, ४ वैशाख । थारु साहित्यिक मेला शुक्रबारदेखि यहाँ सुरु भएको छ ।

साहित्यिक मेलाको उद्घाटन गदै नेपाल प्रज्ञा–प्रतिष्ठान, मातृभाषा साहित्यिक विभागका प्रमुख श्रवण मुकारुङले मातृ भाषाको सरक्षणका लागि राज्यले स्पष्ट नीति बनाउनुपर्ने बताउनुभयो । जातिले आफ्नो भाषा संरक्षणका लागि मात्र अगाडि बढेर त्यस जातिको भाषा संरक्षण हुन नसक्ने भन्दै त्यसका लागि राज्यले पहल थाल्नुपर्ने उहाँको भनाइ थियो । “राज्यले बेलैमा नसोचे नेपालमा रहेका मातृभाषा लोप हुने छन्” उहाँले भन्नुभयो ।
कार्यक्रममा पूर्वराज्यमन्त्री तथा थारु संस्कृतविद् महेश चौधरीले लोक साहित्यको जगेर्नाबाट नै मातृभाषाको संरक्षण हुने बताउनुभयो । त्यसका लागि लोक साहित्यको संरक्षण गरिनुपर्ने उहाँको भनाइ छ ।

विभिन्न सङ्घसंस्थाको आयोजनामा भएको दुईदिने साहित्यिक मेलामा थारु भाषा, साहित्यजस्ता विषयमा कार्यपत्रसमेत प्रस्तुत गरिने तथा अन्त्यमा दाङ घोषणापत्र ल्याइने छ । मेलामा पूर्व चितवनदेखि पश्चिम कञ्चनपुरसम्मका थारु साहित्यकारको सहभागिता छ ।

प्रतिक्रिया