७१ वर्षको उमेरसम्म पनि शौचालय नजाँदा…

इनेप्लिज २०७३ वैशाख ३ गते ६:०४ मा प्रकाशित

पथरी (मोरङ), ३ वैशाख । ७१ वर्षको उमेरसम्ममा पनि कसैले चर्पी प्रयोग गरेन भनेको सुन्दा कसले पत्याउला र ? तर यो कुरा सत्य हो । सुन्दा अचम्म लाग्न सक्छ, मोरङ बुधनगर–९ का मिश्री शर्माले ७१ वर्षको उमेर टेक्नुभयो तर अहिलेसम्म शौच गर्न उहाँ कहिल्यै चर्पी जानुभएको छैन ।

उहाँ मात्र होइन । शर्माजस्तै ७० वर्षका रामलाल दास, भूमिलाल यादवले पनि अझैसम्म शौच गर्न चर्पीको प्रयोग गर्नुभएको छैन । उहाँहरु गाउँमा खुला ठाउँमा दिसा गर्न बन्देज लगाएपछि भने चर्पी प्रयोग गर्ने तयारीमा हुनुहुन्छ । उहाँहरुले जीवन भोगाइका क्रममा धेरै उतार–चढाव भोग्नुभएको छ । तर बल्लतल्ल ७१ वर्षको उमेरमा उहाँ चर्पी प्रयोग गर्ने विचारमा हुनुहुन्छ । सामान्य परिवारका उहाँहरुमा अझै चर्पीमा शौच गरेको अनुभव छैन । तर चर्पीमा शौच गर्न इच्छुक भने रहेको सुनाउनुहुन्छ ।

एकहत्तर वर्षको उमेरसम्म खुला आकाशमुनि शौच गर्ने बानी बसेका उहाँहरु चारैतिर घेरिएको चर्पीभित्र शौच गर्दाको अनुभव बटुल्ने इच्छा रहेको बताउनुहुन्छ । सधैँ खुला ठाउँमा चर्पी गर्ने उहाँहरु शौचालय प्रयोगको अनुभव बटुल्ने तयारीमा हुनुहुन्छ । गाउँमा खुला ठाउँमा दिसा गरिन बन्देज गरिएपछि उहाँहरुले चर्पीमा शौच गर्ने इच्छा व्यक्त गर्नुभएको हो । ७१ वर्षीय मिश्रीलाल शर्माले भन्नुभयो, “जन्मेदेखि अहिलेसम्म शौच गर्न चर्पीको प्रयोग गरेको छैन ।” घरमा चर्पी नभएर बाहिरै शौच गर्ने उहाँ चर्पी बनाएपछि भने शौच गर्न बाहिर नजाने बताउनुहुन्छ ।

मोरङको बुधनगर गाविसलाई २०७४ असार मसान्तभित्र खुला दिसामुक्त गाविस घोषणा गर्ने अभियान सुरु भएपछि उहाँहरु चर्पी प्रयोग गर्न इच्छुक भएको बताउनुहुन्छ । शर्माजस्तै ७० वर्षका रामलाल दासले पनि अझैसम्म चर्पीको भित्र रुप देख्नुभएको छैन । गाउँमा खुला ठाउँमा दिसा गर्न बन्देज लगाएपछि उहाँ बाध्य भएर पनि चर्पीमै शौच गर्ने तयारीमा हुनुहुन्छ । बुधनगर– ३ का अर्जुन मेहताले ६ वर्षअघि घरमा शौचालय बनाउनुभएको थियो । उहाँलाई सधैँ खुला ठाउँमा शौच गर्ने सुरुका दिनमा बानी पर्न मुस्किल पर्‍यो । उहाँले भन्नुभयो, “चर्पी प्रयोग गर्दा सुरुमा शौच गर्दा आउँदैन, तर बानी परेपछि आइहाल्छ ।”

बुधनगर गाविस सचिव दयाराम सिलवालका अनुसार सो गाविसमा दुई हजार ४२६ घरपरिवारका ५८५ चर्पी छन् । त्यसैगरी, एक हजार ८४१ घरपरिवारको चर्पी नभएको बुधनगर गाविस सचिव सिलवालको भनाइ छ ।

शौचालय जान थालेपछि गाउँ नै सफा

खोला, खोल्सी र बाँसघारीलाई दिसापिसाब गर्न काम चलाउने मोरङका राजघाट–४ चौधरी गाउँवासी यतीखेर शौचालय धाउन थालेका छन् । शौचालय भएपछि न कसैले देख्छ भन्ने डर न गाउँ फोहर र दुर्गन्धीत हुने चिन्ता, स्थानिय पञ्चु चौधरीले भन्नुभयो, ‘अहिले ढुक्क छौ’ ।

चौधरीका अनुसार पहिले गाउँभरि दुर्गन्धै दुर्गन्ध, राम्रोसँग हेरेर हिँडेन भने खुट्टाले फोहोर कुल्ची हालिन्थ्यो । गाउँलेको त्यस्तो अवस्था देखेर शौचालय बनाउने हैरान थिए । वरपर नाक थुनेर हिँड्नुपर्ने बाध्यता रहेको थियो । स्थानीय आशाराम चौधरीले भन्नुभयो, “खोलाखोल्सीमा राति शौच गर्दा सर्पले डस्ला कि दुर्घटना होला कि भन्ने डर थियो अहिले भयमुक्त छौँ ।” आशारामले छोरीचेलीलाई राति शौच गर्न जाँदा केही हुने हो कि भनेर सधैँ चिन्तित हुनुपर्ने समस्या टरेको बताउनुभयो ।

राजघाट सरसफाइ समन्वय समितिले चौधरी समुदायलाई चेतना जगायो र चर्पी निर्माणका लागि रिङ, पेनसमेत सहयोग गर्‍यो । ५४ घरपरिवार रहँदै आएको सो चौधरी गाउँमा कमजोर आर्थिक अवस्थाका कारण उनीहरुले चर्पी बनाउन सकेका थिएनन् । खुल्ला दिसामुक्त अभियानले गर्दा चौधरी टोलका समुदायमा सरसफाइसम्बन्धी चेतना जाग्यो । आजभोलि गाउँमा कोही खुल्ला दिसा गर्दैनन् । राजघाट सरसफाइ समन्वय समितिका अध्यक्ष मुक्ति बराल चौधरी टोलमा सबैले शौचालय बनाएकोमा खुसी प्रकट गर्नुहुन्छ ।

चौधरी टोल अचेल निकै सफासुग्घर देखिन्छ । पहिलेजस्तो फोहोर टेकेर हिँड्नु पर्ने दिन सकिएको अध्यक्ष बराल बताउनुहुन्छ । चौधरी टोल मात्र होइन मोरङका बहुसङ्ख्यक नगरपालिका र गाविस खुला दिसामुक्त क्षेत्र भएका छन् ।

जिविस मोरङको वातावरण शाखाका अनुसार मोरङमा जिविस, जिल्लामा चार नगरपालिकामा लुमन्ती आवासका लागि सहयोग समूह र प्लान नेपालको सहयोगमा प्रत्येक घरमा चर्पी बनाएपछि खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको हो ।

प्रतिक्रिया