ठेकेदारको लापरबाहीले स्वास्थ्यचौकीको भवन अलपत्र

इनेप्लिज २०७३ वैशाख २ गते २:०८ मा प्रकाशित

फलेवास (पर्वत), २ वैशाख । ठेकेदारको लापरबाहीका कारण पर्वतको माझफाँटस्थित मल्लाज स्वास्थ्यचौकीको भवन निर्माण कार्य अलपत्र परेको छ ।

डेढ वर्षमा काम सम्पन्न गर्ने सम्झौता गरेका निर्माण व्यवसायी तीन वर्षसम्म पनि काम पूरा गर्न नसकेपछि सम्र्पकविहीन बनेका छन् । सहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालय पोखरामार्फत एक करोड २५ लाख रुपैयाँको लागतमा तीन वर्षअघि स्वास्थ्यचौकीको सुविधासम्पन्न, आधुनिक संरचनासहितको भवन निर्माण कार्य सुरु भएको थियो ।

भवन निर्माणको जिम्मेवारी लिएका कास्कीका निर्माण व्यवसायी ठाकुर बरालले अन्तिम अवस्थामा आएर कामलाई पूर्णता नदिई सम्र्पकविहीन भएको स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर अधिकारीले बताउनुभयो । भवनको संरचना तयार भए पनि रङ्गरोगन, विद्युत्, खानेपानी जडान र व्यवस्थापनको काम बाँकी छ । स्वास्थ्यचौकीले हाल पुरानो भवनबाट सेवा प्रवाह गर्दै आएको छ । नयाँ भवन छिटो प्रयोगमा ल्याउन सकेमा सेवा प्रवाह सहज हुने चौकीका प्रमुख गोरे नेपालीले बताउनुभयो ।

प्रतिक्रिया