देउडा समाजद्वारा सभापति देउवालाई अभिनन्दन

इनेप्लिज २०७३ वैशाख १ गते १४:२० मा प्रकाशित

काठमाडौँ, १ वैशाख । देउडा समाज काठमाडौँले नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई अभिनन्दन गरेको छ ।

नयाँ वर्ष २०७३ को विसु पर्व (सुदूरपश्चिममा नयाँ वर्षका दिन मनाइने पर्व) का अवसरमा आज यहाँ आयोजित अभिनन्दन समारोह तथा देउडाखेल कार्यक्रममा सभापति देउवालाई अभिनन्दन गरिएको हो ।

अभिनन्दनपछि सभापति देउवाले विसु तथा नयाँ वर्ष २०७३ ले मधेस समस्या समाधान गरी संविधान कार्यान्वयन गर्न र लोकतन्त्रको सुदृढीकरणमा सफलता मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा पूर्वमन्त्री एवम् सांसद एनपी साउद, समाजका अध्यक्ष एवम् देउडा गायक नन्दकृष्ण जोशी, नेपाल विद्यार्थी सङ्घका युवा नेताद्वय नैनसिंह महर र पुष्पकुमार शाहीले संस्कृति सभ्य मानिसको पहिचान हो भन्दै समाज परिवर्तनका लागि आर्थिक क्रान्ति आवश्यक हुनेमा जोड दिनुभयो ।

कार्यक्रममा सुदूरपश्चिमको लोक संस्कृति सुदृढीकरणमा योगदान गरेको कदरस्वरुप देउडा गायकद्वय यज्ञराज उपाध्याय र नरेन्द्रराज रेग्मीलाई पनि अभिनन्दन गरिएको थियो ।

कार्यक्रमपछि सुदूरपश्चिम घर भई हाल काठमाडौँमा बस्दै आएका सुपबासीले देउडाखेल खेली हर्षोल्लासका साथ विसु पर्व मनाएका थिए ।

प्रतिक्रिया