काठमाडौँ, १७ चैत । एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले अहिले जारी भएको संविधान पूर्ण हो र केही पनि होइन भन्ने दुवै धार गलत भएको बताउनुभएको छ ।
आज यहाँ मगर राष्ट्रिय मुक्ति मोर्चा, नेपालको विशेष राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो– “यो संविधान सम्पूर्ण हो भन्ने अति दक्षिण र केही होइन भन्ने सङ्कीर्ण सोंच हुन् ।”
उहाँले प्राप्त उपलब्धिको रक्षा, प्रयोग र संस्थागत गर्दै बाँकी अधिकार सङ्घर्षबाटै प्राप्तिको दिशातर्फ लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले माओवादीले आदर्शको कुरा गर्दा नीति छोड्ने नीतिको कुरा गर्दा आदर्श छोड्ने कमजोरीबाट बच्न आवश्यक रहेको धारणा राख्नुभयो ।
अध्यक्ष दाहालले जातीय आन्दोलनलाई वर्गीय उत्पीडनबाट अलग गरेर हुने आन्दोलन साम्प्रदायिक दङ्गामा बदलिने गरेको टिप्पणी गर्नुभयो । भेलामा देशभरिका मगर नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।
प्रतिक्रिया