दर्जनभन्दा बढी घरका छाउपडी भत्काइयो

इनेप्लिज २०७२ फागुन १८ गते ३:२९ मा प्रकाशित

Chhaupadi-300x168कञ्चनपुर, १८ फागुन । कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–११ अमरपुरका बासिन्दाले बनाएका एक दर्जनभन्दा बढी छाउपडी गोठ सोमबार भत्काइएका छन् ।

वैजनाथ महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा आबद्ध महिलाले १३ वटा छाउपडी गोठ भत्काएका हुन् ।

छाउपडी प्रथा उन्मूलनका लागि सहकारीमा आबद्ध महिलाले योजनाबद्ध रुपमा छाउपडी गोठ भत्काउने कार्य थालिएको बताएका छन् ।

छाउपडी प्रथा हटाउन वर्षांैदेखि थालिएका प्रयास प्रभावकारी बन्न नसकेपछि यहाँका महिलाले योजनाबद्ध तरिकाले छाउपडी प्रथा हटाउनका लागि सचेतना फैलाउँदै गोठ भत्काउने अभियान थालेको सहकारीका अध्यक्ष द्वारीकादेवी कुँवरले बताउनुभयो ।

“अझै पनि गाउँका अधिकांश महिला महिनावारी भएका समयमा घरभन्दा टाढा रहेको गोठमा बस्ने गरेका कारण विभिन्न समस्या बल्झिने गरेकाले गोठ नै भत्काउने अभियान थालेका हौँ” – उहाँले भन्नुभयो ।

“छुट्टै गोठमा बस्दा बलात्कार हुने, सर्प, बिच्छीले डस्ने, खुट्टा खुम्च्याएर सुत्नुपर्नेलगायतका धेरै बेफाइदा हुँदा सहकारीमा आबद्ध सबैजना महिला एकबद्ध भएर अगाडि बढेका छौँ” – उहाँले भन्नुभयो ।

देवता रिसाउने गलत मान्यताका कारण आफूहरु रजस्वला भएका बेला गोठमा बस्नुपरेको बिन्द्रा कामीले बताउनुभयो । “सामाजिक गलत मान्यताका कारण स्वास्थ्य स्वयम्सेविकाले समेत रजस्वला भएका बेला घरभन्दा टाढाको गोठमा बस्नुपरेको छ” – उहाँले भन्नुभयो ।

“पुरातनवादी संस्कारले यसलाई आश्रय दिएको छ, छाउपडी गोठमा नबस्दा देवता रिसाउने, गाईभैँसीले दूध नदिने मान्यताको पछाडि सत्यता छैन”, समाजसेवी रनसिंह सुनारले भन्नुभयो – “सामाजिक सचेतना बढाएर यसलाई हटाउन सकिन्छ ।”

प्रतिक्रिया