बालबालिकामा आन्दोलनले उब्जाएको विद्वेष अन्त्य गर्नुपर्ने

इनेप्लिज २०७२ माघ २८ गते १:३८ मा प्रकाशित

जनकपुरधाम, २८ माघ । मधेस आन्दोलनले पहाड र मधेसका बालबालिकामा उब्जाएको विद्वेषको भावनालाई अन्त्य गर्ने चेतनामुखी अभियानको आवश्यकतामा जोड दिइएको छ ।

युनिसेफ नेपाल र नेपाल रेडक्रस सोसाइटी धनुषाद्वारा बुधवार सञ्चालित सुरक्षित बालबालिका तथा उत्थानशील समुदाय कार्यक्रमको समीक्षा बैठकका सहभागीहरुले आन्दोलनले कार्यक्रम प्रभावित भएकाले समुदायमा सकारात्मक सोचको विकास हुने अभियान सञ्चालन हुनुपर्ने धारणा राख्नुभयो ।

अभिभावकहरूले बालबालिकाको भावनालाई निरुत्साहित हुने क्रियाकलाप गर्न नहुने चर्चा गर्दै उहाँहरूले परिवर्तनको संस्कार, संस्कृति, विवेकशीलता र दूरदर्शीताको आवश्यकतामा जोड दिनुभयो ।

स्थानीय विकास अधिकारी रामकृष्ण उप्रेतीले समाजको मुहार फेर्ने सन्दर्भमा बालबालिकाको उत्तरदायी भूमिकालाई ध्यान दिनु जरुरी छ भन्नुभयो ।

मधेस पत्रकार महासङ्घका केन्द्रीय सदस्य हिमांशु चौधरीले परनिर्भरता हटाउनका लागि स्थानीय सीप र क्षमताको व्यावहारिक पक्षमा ध्यान दिएमा कार्यक्रमले दिगोपन हासिल गर्न सक्ने बताउनुभयो ।

जनकपुर उपमहानगरपालिकाका अभियानी यमुना भुजेलले ज्ञान र सीपलाई व्यवहारमा उतार्न प्रतियोगिता, चेतनामूलक नाटक प्रदर्शन गर्न जरुरी भएको प्रसङ्ग उल्लेख गर्नुभयो ।

रेडक्रस सोसाइटीका जिल्ला सभापति नरेशप्रसाद सिंहले कार्यक्रमको निरन्तरता, अपनत्व, समान सहभागिता, स्थानीय स्रोत साधनको प्रयोगले जस्तोसुकै चुनौतीलाई सामना गर्न सकिने बताउँदै कार्यक्रममार्फत सिकाइएको विपद् व्यवस्थापन, जोखिम न्यून गर्ने उपाय, आगलागी नियन्त्रण र बाढी प्रकोपबाट उद्धारका पक्षलाई सबैले मनन गर्नुपर्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया