तीन करोड १७ लाखमा नौवटा पुल बन्ने

इनेप्लिज २०७२ पुष २६ गते ५:५१ मा प्रकाशित

इलाम, २६ पुस । इलाममा रु तीन करोड १७ लाख ३४ हजारको लागतमा नौवटा पुल निर्माण हुने भएका छन् ।

समुदाय, जिविस, गाविस/नगरपालिका, स्वाप, ट्रेल ब्रिज सपोर्ट युनिट (टिबिएसयु)को आर्थिक साझेदारीमा पुल निर्माण हुन लागेका हुन् ।

सोह्र महिनामा निर्माण सम्पन्न गर्ने गरी सातवटा झोलुङ्गे पुल तथा दुईवटा ट्रस ब्रिजको उपभोक्तासँग एकसाताअघि सम्झौता भइसकेको जिविसका ग्रामीण पुल शाखाका सवइञ्जिनियर गोविन्दप्रसाद ढकालले जानकारी दिनुभयो ।

जिविसका अनुसार सम्झौता भएका झोलुङ्गे पुलमा इलाम नगरपालिका र सोयाकबीचमा पर्ने पुवाखोलामा हुलाके झोलुङ्गे पुलका लागि रु ४२ लाख ७७ हजार ६१३, प्याङ र नयाँबजारबीचमा पर्ने बुङबुङ खोलामा कालसिङ झोपुका लागि रु ३० लाख ४६ हजार ७६६, चुलाचुली–१ मा पर्ने कमल खोलामा कमल झोपुका लागि रु ४६ लाख ५० हजार ५७९, साङरुम्वा–२ र ४ बीचमा पर्ने पुवाखोलामा सटके दोभान झोपुका लागि रु ३५ लाख ८२ हजार १२१, इभाङ र बाँझो गाविसबीचमा पर्ने मेवाखोलामा माकथुम्वा झोपुका लागि रु ३९ लाख ४८१ मा सम्झौता भएको हो ।

यसैगरी साकफारा र मोरङको रमितेखोला गाविसबीचमा रहेको बुवाखोलामा खावाना दोभान झोपुका लागि रु ४५ लाख ६८ हजार ५६३, जिर्मलेमा रहेको निन्दा खोलामा खलिपे खरीगौँडा झोपुका लागि रु ३१ लाख ७० हजार ८३५, गोर्खेको श्रीखोलामा ठूल्डुङ्गे ट्रस ब्रिजका लागि रु २२ लाख ६९ हजार २३० र फाकफोक गाविसको फाकफोक खोलामा चुहानघाट ट्रस ब्रिजका लागि रु २२ लाख ६७ हजार ८१७ मा सम्झौता भएको सवइञ्जिनियर ढकालले जानकारी दिनुभयो ।

पुल निर्माणपछि दुई हजार पाँच सय घरधुरीका करिब १५ हजार बासिन्दा लाभान्वित हुने जिविसले जनाएको छ । गतवर्षदेखि निर्माणाधीन पाँचवटा पुल यसै चालु आवमा सम्पन्न गर्ने गरी थप प्रक्रिया अघि बढाइएको जिल्ला प्राविधिक कार्यालयका प्रमुख ई ओमराज ढुङ्गानाले जानकारी दिनुभयो ।

जिल्लामा हालसम्ममा १३८ वटा झोलुङ्गे पुल तथा ट्रस ब्रिज निर्माण भएको छ ।

कावेली करिडोरको म्याद थप

पूरा काम सक्नुपर्ने समयावधिमा पनि पहिलो खण्डमात्र सकिएको कावेली करिडोरको म्याद थप गरिएको छ ।

सात वर्षमा पहिलो खण्डको साढे ३५ किलोमिटर लाइन विस्तार भएको आयोजनाको बाँकी काम डेढ वर्षमा ५५ किलोमिटर लाइन विस्तारको काम सक्ने गरी म्याद थप भएको हो ।

राइट अफ वेको झमेला, ठेकेदारको लापरवाही, सरकारी निकायबीच समन्वयको अभाव र आयोजनाकै कमजोरीका कारण ढिलो गरी मात्रै दमकदेखि इलाम गोदकसम्मको साढे ३४ किलोमिटरको प्रशारण लाइन बनेको हो ।

एक सय ५० मेगावाट क्षमताको एक सय ३२ केभी प्रशारण लाइन सुरू भएपछि मेची पहाडी जिल्लामा एक दर्जनभन्दा धेरै विद्युत आयोजना निर्माणाधीन छन् ।

प्रतिक्रिया