काँग्रेसको सदस्यता विवाद जिल्लामा पनि

इनेप्लिज २०७२ पुष २६ गते ५:४८ मा प्रकाशित

धनगढी, २६ पुस । नेपाली काँग्रेसको आसन्न महाअधिवेशनको मिति नजिकिँदै जाँदा कैलाली जिल्लामा पार्टीको क्रियाशील सदस्यताको विवाद चुलिएको छ ।

विवादसँगै अवैधानिक सदस्यता खारेजी र वैधानिक सदस्यता कायम गर्नुपर्ने माग गर्दै काँग्रेस कैलालीको यहाँस्थित जिल्ला कार्यालयमा शनिबारदेखि पार्टीका नेता कार्यकर्ताहरु धर्नामा बसेका छन् ।

सांसद पुष्करनाथ ओझाको नेतृत्वमा झन्डै एक दर्जन बढी नेता कार्यकर्ता अनशनमा बसेका हुन् ।

छवटा निर्वाचन क्षेत्र रहेको कैलालीमा निर्वाचन क्षेत्र नं ६ मा विवाद नरहेको भए पनि बाँकी सबै क्षेत्रमा क्रियाशील सदस्यता विवाद रहेको धर्नामा बस्नुभएका क्षेत्रीय अध्यक्ष उद्धवसिं विष्टले बताउनुभयो ।

अवैधानिक सदस्यता खारेज नभएसम्म आफूहरुको धर्ना जारी रहने महाअधिवेशन प्रतिनिधि कृष्णबहादुर महराले बताउनुभयो ।

अनशनमा बस्नेहरु वरिष्ठ नेता शेरबहादुर देउवा पक्षधर रहेको बताइएको छ । यद्यपि वरिष्ठ नेता देउवा पक्षधर मानिएका पार्टीका जिल्ला सभापति नरनारायण शाह भने धर्नामा अनुपस्थित रहनुभएको थियो ।

जिल्लामा काँग्रेसका झन्डै नौ हजार क्रियाशील सदस्य रहेको जनाइएको छ ।

प्रतिक्रिया