अब मन्त्री नहुने नेता खड्काको भनाइ

इनेप्लिज २०७२ पुष २६ गते ५:४७ मा प्रकाशित

7643परासी, २६ पुस । नेपाली काँग्रेसका नेता पूर्णबहादुर खड्काले देशको अहिलेको जटिल समस्या सबै दल एकजुट भई समाधान गर्नुपर्ने विचार राख्नुभएको छ ।

उहाँले अहिले तराईमा जारी आन्दोलनप्रति सङ्केत गर्दै आन्दोलनरत मधेसवादी दलसहित सबै साना ठूला दलको सहमति र सहकार्यमा देशलाई निकास दिनुपर्ने विचार राख्नुभयो ।

नेपाल प्रेस युनियन नवलपरासी शाखाले शनिबार साँझ रामनगर, भूमहीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता खड्काले यस्तो विचार राख्नुभएको हो ।

यसअगावै आठ पटकसम्म विभिन्न मन्त्रालयको जिम्मेवारी लिइसक्नुभएका खड्काले आगामी दिनमा मन्त्री पदमा नबस्ने उद्घोष गर्नुभयो ।

लाभका सबै पद नलिने उद्घोष गर्नुभएको हो भन्ने पत्रकारहरुको जिज्ञासामा काँग्रेस नेता खड्काले अन्य पदको विषयमा कुनै कुरा नबोली मन्त्री पद नलिने उद्घोष गरेको जानकारी दिनुभयो ।

नेता खड्काले पार्टी भागबन्डाले धरासायी बन्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै पार्टीमा पुस्ता हस्तान्तरण अहिलेको आवश्यकता हो भन्नुभयो ।

प्रतिक्रिया