‘एक इलाका एक उत्पादन केन्द्र’ अवधारणा लागू गरिने: मन्त्री गजुरेल

इनेप्लिज २०७२ पुष २४ गते १४:१६ मा प्रकाशित

Haribol-Gajurelदाङ, २४ पुस । कृषि विकास मन्त्री हरिवोल गजुरेलले कृषि क्षेत्रको विकास र आकर्षणका लागि किसानलाई निवृत्तिभरणको व्यवस्था गर्ने बताउनुभएको छ ।

क्रान्तिकारी पत्रकार सङ्घले शुक्रबार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री गजुरेलले युवाको विदेश मोहलाई रोक्न र कृषिमा आत्मनिर्भता खोज्न किसानलाई अब निवृत्तिभरणको व्यवस्था गर्न लागेको बताउनुभयो । कर्मचारीले काम गरेबापतको रकम र निवृत्तिभरण पाउने तर किसान किन नपाउने भन्दै उहाँले अब कृषिमा आकर्षण र टिकाउनका लागि निवृत्तिभरण दिइने बताउनुभयो ।

“मापदण्ड र कार्य विधि बन्ने क्रममा रहेको छ” उहाँले भन्नुभयो । युवालाई कृषिमा आकर्षित गर्न गाउँगाउँमा कृषि सेवा केन्द्रको विस्तार गर्न लागिएको मन्त्री गजुरेलले बताउनुभयो । कृषि नै रोजगारी भएको भन्दै निवृत्तिभरणको व्यवस्था र सरकारको लगानीमा सहयोगले अब युवालाई विदेश जानबाट रोक्न सकिने उहाँको भनाइ थियो । व्यावसायिक कृषिको प्रबद्र्धन गर्न नेपालभरी एक हजार ५०० विशिष्ट बालीको पकेटक्षेत्र घोषणा गरी ‘एक इलाका एक उत्पादन केन्द्र’को अवधारणा लागू गरिने मन्त्री गजुरेलले बताउनुभयो ।

दुई तिहाई नेपालीको जीविकोपार्जनको आधार भनेकै कृषिक्षेत्र भएकाले अब यसमा लगानी पनि बढाइने उहाँले बताउनुभयो । विभिन्न बालीको पकेटक्षेत्र घोषणा गर्ने र त्यहीबाटै साना किसानलाई पनि बीउ तथा परामर्शको व्यवस्था गरिने उहाँको भनाइ छ । एकीकृत नेकपा (माओवादी)का कोषाध्यक्षसमेत रहेका गजुरेलले भारतीय नाकाबन्दीबाट नेपालले आत्मनिर्भताको पाठ सिकेको बताउनुभयो ।

प्रतिक्रिया