आधुनिक कृषिमा आकर्षण गराउन कृषक पाठशाला

इनेप्लिज २०७२ पुष २२ गते ३:२६ मा प्रकाशित

बैतडी, २२ पुस । किसानलाई व्यावसायिक र आधुनिक कृषितर्फ आकर्षण गराउन बैतडीमा कृषक पाठशालाका माध्यमबाट प्रयास सुरु भएको छ ।

जिल्ला कृषि विकास कार्यालयको सहयोगमा विभिन्न पाँचवटा गाविसमा कृषक पाठशाला सञ्चालन गरी उनीहरुलाई उन्नत बालीका बारेमा जानकारी दिने गरिएको छ । कुनै एक बालीको सुरुवातदेखि त्यसलाई नकाटुन्जेलसम्म अपनाउनुपर्ने सबै प्रविधिका बारेमा किसानलाई जानकारी दिने गरिएको जिल्ला कृषि विकास कार्यालयका प्राविधिक रामनारायण चौधरीले बताउनुभयो ।

“पाठशाला सञ्चालन भएको गाविसको वडामा २५ जना किसानलाई छनोट गरी १६ हप्तासम्म सैद्धान्तिक र प्रयोगात्मक ज्ञान दिने गरेका छौँ”, उहाँले भन्नुभयो, “स्थानीय जातको बाली र उन्नत जातको बालीको उत्पादनमा तुलनासमेत गर्न लगाउने गरेका छौँ ।” खाद्य असुरक्षित गाविसमा खाद्य सुरक्षित बनाउनका लागि कार्यक्रम सञ्चालन गरिएको कृषि विकास कार्यालयले जनाएको छ । जिल्लाका कैलपाल, हटैराज, देउलेक, कोटपेटरा र हाट गाविसमा कृषक पाठशाला सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया