भोकमरीबाट बच्न प्यूठानमा प्रतिकार्य योजना

इनेप्लिज २०७२ पुष २२ गते ३:०९ मा प्रकाशित

प्यूठान, २२ पुस । भोकमरीबाट बच्नका लागि प्यूठानमा पहिलोपटक प्रतिकार्य योजना बनाएको छ । कृषि मन्त्रालय, विश्व खाद्य कार्यक्रम र जिल्ला कृषि विकास कार्यालय प्यूठानले संयुक्तरुपमा खाद्यान्न सङ्कटबाट पर्न सक्ने भोकमरीबाट बच्नका लागि प्रतिकार्य योजना बनाएको हो ।

खाद्य असुरक्षित जिल्लाअन्तर्गत रहेको प्यूठानलार्ई खाद्यान्नमा सुरक्षित बनाउने र हरेक व्यक्तिको खाद्यान्नमा पहुँच विस्तार गर्नका लागि खाद्य सुरक्षा प्रतिकार्य योजना बनाएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । “खाद्यान्नमा आत्मनिर्भर हुने र भोकमरी पर्न नदिने गरी प्रतिकार्य योजना तयार भएको छ ।”

जिल्ला कृषि विकास कार्यालयका योजना विकास अधिकृत उमेशचन्द्र श्रेष्ठले भन्नुभयो–“योजनामा तत्काल र दीर्घकालीन के गर्न सकिन्छ भनी पुनः अहिले सरोकारवालाको समिति बनाई प्रतिकार्य योजना थप गर्दैछौैँ ।”
“जिल्लामा आव २०७२÷७३ सम्ममा खाद्यान्नमै आत्मनिर्भर बनाउने गरी कृषि विकास कार्यालयले आफ्ना कार्यक्रम केन्द्रित गरेको थियो । तर सो लक्ष्य पूरा नभए पनि यस वर्ष प्रतिकार्य योजना तयार भएको छ”, अधिकृत श्रेष्ठले भन्नुभयो– “१५ सदस्य प्रतिकार्य योजना तयारी समिति बनाएका छौँ । समितिले योजनामा यस पटक नयाँ विकल्पहरु तयार गर्नेछ ।”

आव २०६९÷७० मा १६ हजार मेट्रिक टनभन्दा धेरै खाद्यान्न अभाव देखिएको जिल्लामा उन्नत बीउको प्रयोग, मध्येपहाडी मकै विकास कार्यक्रमजस्ता विभिन्न कार्यक्रम सञ्चालन गरी हाल खाद्यान्न अभावलाई दुई हजार ६९३ मेट्रिक टनमा झारिएको छ । खाद्यान्नमा सुरक्षित जिल्ला बनाउने गरी व्यावसायिक कृषि प्रणालीसँगै कृषिमा उन्नत बीउबिजनको प्रयोग लगायतका कार्य प्राथमिकतामा राख्दै प्रतिकार्य योजनाको तयार गरिएको वरिष्ठ कृषि विकास अधिकृत शिवनारायण चौधरीले बताउनुभयो ।

प्यूठानमा हाल वार्षिक ४६ हजार ८३२ मेट्रिक टन खाद्यान्न आवश्यक पर्ने भए पनि यसमा दुई हजार ६९३ मेट्रिक टन खाद्यान्नको अभाव रहेको कृषि कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । जिल्लामा आव २०७२÷७३ को पहिलो चौमासिकमा गरिएको जनसङ्ख्या अनुमानित प्रक्षेपण गणनाले दुई लाख ३२ हजार ९९५ जिल्लावासीमा अझै खाद्यान्नको अभाव देखिएको छ ।

जिल्लामा वार्षिक ६ हजार ५२५ हेक्टर क्षेत्रफलमा धान, आठ हजार ६५० हेक्टर क्षेत्रफलमा गहुँ, १२ हजार ५८ हेक्टर क्षेत्रफलमा मकै, ५०० हेक्टर क्षेत्रफलमा जौ र एक हजार हेक्टर क्षेत्रफलमा कोदो उत्पादन हुँदै आएको भए पनि जिल्लाका लागि यो उत्पादन न्यून हुने अधिकृत चौधरीले बताउनुभयो ।

प्रतिक्रिया