रोगका कारण सुन्तला बगान मासिँदै

इनेप्लिज २०७२ पुष ५ गते ३:३६ मा प्रकाशित

Myagdi-lataramma-Suntalaइलाम, ५ पुस । सुन्तला पकेट क्षेत्रका रूपमा रहेका जिल्लाका आधादर्जनभन्दा बढी गाविसमा गरिएको सुन्तलाखेतीमा देखिएको सिट्रस ग्रिनिङ रोगका कारण सुन्तलाका बोट धमाधम मर्न थालेका छन् । बरबोटे, नामसालिङ, इलाम नगरपालिका, सोयाक, गोदकलगायतका गाविसमा सिट्रस ग्रिनिङ रोग देखापरेको हो ।

सुन्तलामा सिट्रस ग्रिनिङ नामक रोगका कारण यसवर्ष १० प्रतिशत उत्पादन घटेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

बाली संरक्षण निर्देशनालयले गतवर्ष दुई गाविसका बगानको नमुना सङ्कलन गरेको थियो । ब्याक्टेरियाजस्तै जीवाणुका कारण यो रोग लाग्ने जिल्ला कृषि विकास कार्यालयका बाली विज्ञ जीवन आचार्यले बताउनुभयो ।

एक वर्षअघि गोदक र सोयाक गाविसको १० हेक्टरमा फैलिएको यो रोग यसपाली नामसालिङ, बरबोटे, इनपामा समेत फैलिएको र नियन्त्रण गर्न नसकिएको किसानले बताएका छन् ।

नयाँ तथा पुराना बोटको टुप्पो सुक्दै गएको, बोटको आंशिक हाँगाका पात पहेँलो, फलको आकार लाम्चिलो, पातभित्रका नसाहरू कतै पहेँलिएर मर्ने समस्या आएपछि सुन्तला कृषक चिन्तित बनेका छन् । ग्रिनिङ रोग लागेपछि पातको नसा उत्तिकै हरियो भए पनि पहेँलो भई सूक्ष्म तत्वको कमी भएजस्तो लक्षण हुने विज्ञहरू बताउँछन् ।

सुन्तला पकेट क्षेत्र बरबोटे, नामसालिङ, इलाम नगरपालिका, सोयाक, गोदकलगायतका गाविसमा रोगका कारण उत्पादन घटेको छ । सिट्रस ग्रिनिङ रोगका कारण यसवर्ष १० प्रतिशत उत्पादन घटेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

रोग प्रभावित बगानबाट नमुना सङ्कलन गरी क्षेत्रीय बाली संरक्षण प्रयोगशाला, क्षेत्रीय कृषि निर्देशनालय, राष्ट्रिय सुन्तला जात बाली विकास कार्यक्रम कीर्तिपुर र राष्ट्रिय सुन्तला जात अनुसन्धान केन्द्र धनकुटामा परीक्षणका लागि पठाइएको आचार्यले जानकारी दिनुभयो । जिल्लाको ३०९ हेक्टर क्षेत्रफलमा सुन्तला बगैँचा रहेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया