ग्यास उत्खननका लागि प्राविधिक टोली खटाइने: मन्त्री पाण्डेय

इनेप्लिज २०७२ मंसिर २१ गते १२:२६ मा प्रकाशित

som-pdr-pandeyदैलेख, २१ मङ्सिर । उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले ग्यास उत्खननका लागि एक महिनाभित्र प्राविधिक टोलीलाई सम्भावित क्षेत्रमा खटाउने बताउनुभएको छ ।

भूगर्भविद्सहित खानी क्षेत्रको अवलोकन भ्रमणमा आउनुभएका मन्त्री पाण्डेयले सरकारको आफ्नो साधन स्रोतले नभ्याए विदेशी सहयोग लिने बताउनुभयो । “प्राविधिक टोलीले ग्यास प्रयोगमा ल्याउन सकिने प्रतिवेदन दिएमा तत्काल उत्खनन् अघि बढ्छ, नाकाबन्दी खुलेपनि सरकारले आफ्नो काम अघि बढाउँछ” उहाँले भन्नुभयो ।

आफूले मन्त्रालयको नेतृत्व सम्हालेलगत्तै मुलुकभरका खानीको अध्ययन र अन्वेषण गर्न निर्देशन दिइसकेको मन्त्री पाण्डेयले बताउनुभयो । उहाँले आज जिल्लाका शिरस्थान, नाभिस्थान, धुलेश्वर, पादुका क्षेत्रमा पाइने पेट्रोलियम पदार्थको अवलोकन भ्रमण गर्नुभयो ।

जिल्ला उद्योग वाणिज्य सङ्घले ग्यास खानीको अध्ययन अनुसन्धान गरी उत्खनन् गर्न तथा पञ्चकोसी क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा घोषणा गर्ने मागसहितको ज्ञापनपत्र मन्त्री पाण्डेयलाई बुझाएको छ । उक्त अवसरमा सांसद लक्ष्मीप्रसाद पोखरेल, अम्मरबहादुर थापा र ललिता रेग्मीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया