तीन हजार १३७ घरपरिवारलाई खानेपानीको सुविधा

इनेप्लिज २०७२ कार्तिक १८ गते २:३५ मा प्रकाशित

no-water-tapपाल्पा, १८ कात्तिक । रामपुर नगरपालिकाभित्रका तीन हजार १३७ घरपरिवारले खानेपानीको सुविधा पाउने भएका छन् ।

रामपुर साना सहरी खानेपानी तथा सरसफाइ आयोजनाको झन्डै ८४ प्रतिशत काम पूरा भइसकेको र पुससम्म उपभोक्ताले खानेपानी प्रयोग गर्न पाउने उपभोक्ता समितिका अध्यक्ष कमल भट्टराईले बताउनुभयो ।

एसियाली विकास बैंकको करिव रु २४ करोड ३४ लाखको आर्थिक सहयोगमा सञ्चालित आयोजनाको निर्माण सुरु गरिए पनि निर्माण पक्षको ढिलाइका कारण आयोजनाको लागतसमेत बढेको छ । विसं २०७० साउन ३१ गतेदेखि सञ्चालित आयोजनाकोे २०७२ पुससम्म सम्पन्न गर्ने गरी थप रु दुई करोड बजेटसमेत थपिएको अध्यक्ष कमल भट्टराईले बताउनुभयो ।

पाँचवटा बोरिङ इनार निर्माण गरी पानी सङ्कलन गर्ने ट्याङ्की, पाइप बिछ्याउने कार्य पूरा भइसकेको छ । इनारको पानी विद्युत्ले तानेर चारवटा रिजर्भ ट्याङ्कीमा सङ्कलन गरिनेछ । राम्चेको र कार्कीडाँडाको रिजर्भ ट्याङ्कीमा सङ्कलित पानी उपभोक्ताका लागि वितरण हुनेछ । खानेपानी आयोजना सम्पन्न भएपछि रामपुर नपा–६, ७ र ८ का घरपरिवारलाई खानेपानीको सुविधा पुग्नेछ । रामपुरको बेझाड आसपासका क्षेत्रका तीनवटा बोरिङ इनारको पानी तानेर राम्चे सामुदायिक वनस्थित दुईवटा रिजर्भ ट्याङ्कीमा निर्माण गरिएको छ । सो स्थानमा निर्माण गरिएको ट्याङ्कीमा ९०० घनमिटर पानी सङ्कलन गर्न सकिने आयोजकले जनाएको छ ।

राम्चेको पानी सङ्कलनका लागि निर्माण गरिएको ट्याङ्कीबाट तिलकपुर, पोखरा, धमवक, मटेरी, बेझाड, खोटरसम्मका बस्तीलाई खानेपानीको सुविधा पाउने गरी खानेपानी पाइपलाइन विस्तार गरिएको छ । चनमटेचौपारी र वीरेन्द्र टायरबाट बोरिङ इनारको पानी डुम्रे गाउँमा पानी तानेर सङ्कलन गरिनेछ । डुम्रेगाउँको आधारभूत मावि नजिकै २०० घनमिटर पानी ट्याङ्कीमा सङ्कलन गरिएको पानी पुनः कार्कीडाँडामा सङ्कलनका लागि पठाइने छ । कार्कीडाँडामा सङ्कलित १५० घनमिटर पानी महोटी किसनबारी, विजयपुर, ट्याकलुक, पठान, रातामाटा लगायतका क्षेत्रका घरधुरीलाई वितरण गरी खानेपानीको प्रत्यक्ष सुविधा पाउने व्यवस्था मिलाएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया