जनकपुरमा मधेसी मोर्चाको बैठक बस्दै, निर्णायक आन्दोलन घोषणा गर्ने

इनेप्लिज २०७२ कार्तिक १४ गते ३:१४ मा प्रकाशित

 

Madeshi Morcha Meeting

काठमाडौं, १४ कात्तिक । मुलुकमा नाकाबन्दी लगाएर जनजीवन अस्तव्यस्त बनाइ रहेको संयुक्त लोकतान्त्रिक मोर्चाको बैठक आज जनकपुरमा बस्दैछ । बैठकका लागि मोर्चामा आबद्ध संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव तथा नेताहरू जनकपुर पुगेका छन् । दिउँसो एक बजेदेखि सुरु हुने भनिएको बैठकमा अहिलेसम्मको आन्दोलन र नाकाबन्दीको समीक्षा र भावी रणनीतिका विषयमा छलफल हुने सद्भावना पार्टीका महासचिव मनीष समुनले जानकारी दिनुभयो । ‘हाम्रा मागप्रति सत्तारुढ दल र सरकारले सुनुवाइ गरेन’, उहाँले भन्नुभयो, ‘अब निर्णायक आन्दोलनको बिकल्प छैन । निर्णायक आन्दोलनका लागि मोर्चाको बैठकले निर्णय गर्छ ।’ बैठकमा अहिलेसम्म सरकारी पक्षको वार्ता टोलीसँग भएका छलफल र वार्ताहरूका बारेमा पनि समीक्षा हुनेछ । संघीय प्रदेशको सिमाङ्कन, नागरिकता, जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारणलगायतका विषयलाई लिएर मधेसी मोर्चाले झण्डै तीन महिनादेखि तराई मधेसका जिल्लाहरूमा आन्दोलन गर्दै आएका छन् ।

प्रतिक्रिया