गम्बरो रोगले कुखुरा मरेपछि व्यवसायी चिन्तित

इनेप्लिज २०७२ कार्तिक ४ गते ४:२५ मा प्रकाशित

kukhuraरामपुर (पाल्पा), ४ कात्तिक । रामपुर क्षेत्रमा गम्बरो नामक रोगका कारण कुखुरा सखापै भएपछि व्यवसायी चिन्तित भएका छन् ।

रामपुर नगरपालिका–१० मा सञ्चालित बिबिसा पोल्ट्रीफर्ममा पालिएका ६०० कुखुरा गम्बरो रोगका कारण मरेको सञ्चालक विवेक पोखरेलले बताउनुभयो ।

उहाँका अनुसार दसैँमा आम्दानी लिने उद्देश्यले एक हजार कुखुरा पालेकोमध्ये ६०० मरेपछि करिब रु चार लाख बराबरको नोक्सान भएको छ ।

त्यसैगरी आकाश पोल्ट्रीफर्ममा पालिएको ५०० कुखुरामध्ये सोही रोगका कारण ३०० कुखुरा मरेपछि करिब दुई लाख बराबरको क्षति भएको सञ्चालक महेश ढकालले बताउनुभयो ।

पोल्ट्रीफर्म सञ्चालकले जिल्ला पशुसेवा कार्यालय वा सेवा केन्द्रमा रोगको समस्या नबताउँदा व्यवसायीले ठूलो क्षति भोग्नुपरेको पशु सेवा केन्द्र रामपुरका प्रमुख पशु चिकित्सक रामजीप्रसाद अधिकारीको भनाइ छ ।

कुखुरा झोक्र्याउने र कुखुराको खुट्टाको जोर्नीनिर रगत जम्नु जस्ता गम्बरो रोगका लक्षण रहेको प्राविधिक मोहनप्रसाद भट्टराईले बताउनुभयो ।

गम्बरो रोग लागेपछि एन्टिबाइटिक पानीमा घोलेर खुवाएमा र गम्बरोविरुद्ध सुई दिएर रोग लाग्नबाट बचाउन सकिने पशुस्वास्थ्य प्राविधिक बताउँछन् ।

प्रतिक्रिया