बडादशैंको आठौं दिन महाअष्टमी पर्व मनाईंदै

इनेप्लिज २०७२ कार्तिक ३ गते २२:०९ मा प्रकाशित

नवदुर्गा भवानीको पूजा आराधना गरी बडादशैंको आठौं दिन महा अष्टमी पर्व देशभर मनाईंदैछ। आश्विन शुक्ल प्रतिपदाका दिन पूजा कोठा, दशैं घर र मण्डपमा वैदिक विधिपूर्वक घटस्थापना गरिएको ठाउँमा महा अष्टमीको दिन भक्तिपूर्वक पुजाआजा गरिन्छ।

देशभरिका दशैं घरमा आज केराको पातमा चामलको नौ थुप्रा लगाएर त्यसमा जनै, सुपारी, नैवेद्य तथा भेटी राखी नवदुर्गाको पूजाआजा गरिन्छ। महा नवमी लाग्ने महा अष्टमीको मध्यरातमा बलि सहित असुर संहारकर्ता कालदुर्गे कालरात्रिको पूजा गरिन्छ। आजै आफूले प्रयोग गर्ने खुकुरी, तरबार, खड्गहरु जस्ता फलामका घरेलु औजार, कलपुर्जा र सवारी साधनलाई पनि दशैं घरमा राखेर विशेष पुजाआजा गर्ने गरिन्छ।

नेपाली सेना र प्रहरीका हातहतियार तथा कोतखानामा रहेका अन्य हतियारहरुको पनि पूजा गरिन्छ। नवरात्रिको आठौं दिनमा देवी दुर्गाको महाकाली रुप (भद्रकाली) को विशेष पूजाआजा गरिन्छ। पौराणिककालमा सतिदेवीले पिता दक्षप्रजापतिले आफ्ना पति परमेश्वर महादेवको निन्दा गरेपछि हरहर महादेव भन्दै बाबु दक्षप्रजापतिको यज्ञमा फाल हानेर आत्मादाह गरिन्।

त्यहि बखत ब्यूँझिएका महादेवले आफ्नी सावित्री सतिदेवीको त्यो हाल भएको थाहा पाएर रिसले चुर हुँदा दक्षको यज्ञ नाश गर्ने ज्यादै शक्तिशाली भद्रकाली देवी यसै अष्टमीका दिन उत्पन्न भईन्। त्यसैले यस दिन भद्रकालीलाई सोह्र सामाग्रीहरु जुटाएर पूजा गर्ने गरिन्छ। नवदुर्गा पार्वतिका शक्ति स्वरुपाहरु- शैलपुत्री, ब्रहृमचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी, सिद्धिदात्री आदिको पूजाआजा गरिन्छ।

पूजा पश्चात बोका, कुखुरा, हाँस, राँगा आदिको बलि दिने चलन रहेको छ। महाअष्टमीका दिन मानिसहरुले आफ्ना कुल, देवीदेवताहरु पनि पूजा गरी बलि चढाउने गर्दछन्। सात्विकहरूले भने नरिवल, कुभिण्डो, केरा, घिरौँला जस्ता फल अर्पण गर्दछन्। महा अष्टमिका दिन हनुमानढोकास्थित दशैं घरको तलेजु भवानीमा ५४ वटा राँगा र त्यत्ति नै बोकाको बलि दिइन्छ। आज काठमाडौं उपत्यकाका दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, सङ्कटा, बज्रबाराही लगायतका मन्दिरहरूमा पूजा आराधना गरी बलि चढाउनेहरुको घुइँचो लाग्ने गर्छ।

त्यसैगरी सप्तरीको भारदहस्थित कंकालिनी देवीको मन्दिरमा जहाँ हजारौंको संख्यामा खसीबोका, राँगा, हाँस र कुखुरालाई बलि चढाइन्छ। काभ्रेको पलाञ्चोक भगवती, बनेपाको चण्डेश्वरी, गोरखाको मनकामना, वीरगन्जको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, जनकपुरको राजदेवी, डडेल्धुराको उग्रतारा लगायतका मन्दिरहरूमा पनि शक्तिरूपा भगवतीको पूजा अर्चना गरिन्छ। दुर्गा सप्तशती र देवी स्तोत्र पाठ पनि गरिन्छ।

विवेकशील र अविवेकशील प्राणी दुवैले जीवन पश्चातको मोक्ष चाहने हुँदा देव मन्दिर र यज्ञ यज्ञादिमा विधिपूर्वक बलि दिनाले ती पशुहरुले मोक्ष प्राप्त गरी अर्को जुनीमा जन्म लिने कुरा शास्त्रमा वर्णन गरिएको पाइन्छ। तर बलि प्रथाको पछिल्ला दिनमा भने चर्को बिरोध हुन थालेको छ। यसले हिंसा बढाउने र हरेक प्राणीको जन्मिसकेपछि बाँच्न पाउने सास्वत: अधिकार हुने भन्दै बलिको आलोचना हुने गरेको हो।

नव दुर्गा भवानीले हामी सबैको रक्षा गरुन ! बिजया दशमीको मंगलमय शुभकामना !

प्रतिक्रिया