३० करोडको नयाँ नोट वितरण

इनेप्लिज २०७२ कार्तिक ३ गते १६:०५ मा प्रकाशित

money1भीमदत्तनगर, ३ कात्तिक । राष्ट्रिय वाणिज्य बैंक भीमदत्तनगर शाखा कञ्चनपुरले दसैँ तिहारका लागि यहाँ ३० करोड मूल्य बराबरको नयाँ नोट वितरण गरेको छ ।

नेराबैंक धनगढी शाखाबाट ल्याएर यहाँका वाणिज्य बैंकले गत असोज २४ गतेदेखि नयाँ नोट वितरण गरेको थियो । एक व्यक्तिले ५, १० र २० का दुई–दुई बण्डल तथा ५० र १०० का एक–एक बण्डल नयाँ नोट साट्न पाएका छन् ।

“सोमबार बिहान सबै नयाँ नोट सकियो,” वाणिज्य बैंक भीमदत्तनगर शाखाका नायब सुब्बा हरिप्रसाद भट्टले भन्नुभयो – “नयाँ नोट सकिएपछि सर्टिङ नोटको वितरण गर्न थालेका छौँ ।” अझै नयाँ नोटको अभाव रहेको वाणिज्य बैंकले जनाएको छ ।

त्यसैगरी, यहाँ सञ्चालनमा रहेका अन्य निजी बैंकले पनि वाणिज्य बैंकबाट नयाँ नोट लिएको नासु भट्टले बताउनुभयो । “साना नोट करिब रु पाँच करोडभन्दा बढी आएको भट्टको भनाइ थियो । उहाँले भन्नुभयो – “अपुग भएपछि गत वर्षको मौज्दातमा रहेको सर्टिङ नोट वितरण गर्न थालेका छौँ,” वाणिज्य बैंकले गत वर्ष पनि यहाँ करिब रु ३० करोडकै हाराहारीमा नयाँ नोट वितरण गरेको थियो ।

विगत वर्षमा अन्य निजी बैंकलाई राष्ट्र बैंकले सोझै नयाँ नोट प्रदान गर्ने गरेको भए पनि यस पटक सरकारी बैंकमार्फत मात्रै नयाँ नोट उपलब्ध गराएको हो ।

प्रतिक्रिया