मिनीट्रक दुर्घटना हुँदा एकको मृत्यु, तीनको अवस्था गम्भीर

इनेप्लिज २०७२ कार्तिक ३ गते ३:२१ मा प्रकाशित

accident-signगाईघाट (उदयपुर), ३ कात्तिक । आज बिहान गाईघाट बजारबाट पहाडी क्षेत्र फोक्सिङटारतर्फ जाँदै गरेको मिनीट्रक साउने गाविस–१ स्थित जङ्गलमा दुर्घटना हुँदा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने तीन जनाको अवस्था गम्भीर रहेको छ ।

आज बिहान ६ बजे भएको दुर्घटनामा खोटाङ बतासे–४ की १९ वर्षीया श्रद्धा राईको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ ।

यस्तै खोटाङ बतासेकै ३२ वर्षीय मिनीट्रक चालक विष्णुकुमार राई, देवन राईसहित तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्दकुमार साहले बताउनुभयो ।

बा२ख ७६५६ नम्बरको उक्त मिनीट्रकले १५ जना यात्रु बोकेर साउने जङ्गलको कच्चीबाटोको ओरालोमा जाँदै गर्दा मिनीट्रक सडकबाट १५ मिटर तल खसेको प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा परेका अन्य बाँकी ११ जना यात्रु सकुशल रहेको छ ।
प्रहरीले अहिले सदरमुकाम गाईघाटबाट एम्बुलेन्ससहितका टोलीलाई घटनास्थलतर्फ पठाएको छ भने घाइते यात्रुलाई घटनास्थलमा पुगेर प्रहरी चौकी साउनेको टोलीले उद्धार गरिरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया