बाटो बदलेर इन्धन ल्याउने पहल जारी

इनेप्लिज २०७२ कार्तिक २ गते १३:४३ मा प्रकाशित

petrolpumpकाठमाडौँ, २ कात्तिक । मुलुकमा जारी रहेको इन्धन सङ्कटका कारण नेपालीहरुको महत्वपूर्ण चाड दसैँ खल्लो हुने भएको छ ।

भारतले नेपालमाथि जारी राखेको अघोषित नाकाबन्दीका कारण नागरिकको दैनिकी कष्टकर बन्दै गएको छ । सरकारले वैकल्पिक व्यवस्था गर्ने जनाए पनि हालसम्म कुनै पनि सार्थक निष्कर्ष निस्कन सकेको छैन ।

इन्धन अभावका कारण नागरिकको सहज आवागमनमा समेत समस्या पैदा भएको छ । सवारीसाधनको अभावमा चाडबाड मान्न आफ्ना थातथलो जान चाहनेले कष्टकर यात्रा गर्न बाध्य छन् ।

नेपाल आयल निगमका अनुसार एकाध सङ्ख्यामा आएका इन्धनले मागअनुसारको आपूर्ति गर्न सकिएको छैन । रक्सौल नाका नखुल्दासम्म इन्धन आयात सहज हुन नसक्ने निगमले बताएको छ । जनजीवन सहज बन्न दैनिक ३५० ट्याङ्कर इन्धन आयात हुनुपर्नेमा हाल १०० भन्दा कम ट्याङ्कर मात्रै भित्रिएको छ ।

रक्सौल नाकाबाट आयात हुने इन्धन कुल आयातको ९० प्रतिशत हो भने अन्य नाकाबाट आउने इन्धन भने बाँकी १० प्रतिशत मात्रै हो । अन्य नाकाबाट जतिसुकै इन्धन आयात भए पनि राजधानी काठमाडौँ र आसपासको जनजीवन सामान्य बन्न नसक्ने निगमको भनाइ छ ।

इन्धन सङ्कटका कारण जनजीवन प्रभावित भइरहेको बेला सबैभन्दा बढी समस्या खाना पकाउने एलपी ग्यासको अभावका कारण झन सङ्कट पैदा भएको छ ।

ग्यासको खोजीमा राजधानीका बालाजु, सातदोबाटोलगायतका स्थानमा लामा लामा लाइन लागेका छन् ।

चार दिन लाइनमा बस्दा पनि ग्यास नपाएको उपभोक्ताले गुनासो गरेका छन् । राजधानीमा दैनिक ३० हजार सिलिन्डर ग्यासको माग रहेको छ ।

निगमले बाटो परिवर्तन गरेर रक्सौल नाकामा रोकिएका एलपी ग्यासको बुलेट ल्याउने प्रयास जारी राखेको जनाएको छ । तर त्यसले सार्थक निष्कर्ष पाउन सकेको छैन ।

निगमका प्रवक्ता दीपक बरालले इन्डियन आयल कर्पोरेसन (आइओसी)सँग संवाद जारी रहे पनि कुनै तार्किक निष्कर्ष आइनसकेको जानकारी दिनुभयो । सरकारले कूटनीतिक तवरबाट गरिरहेको संवादका बारेमा आफूलाई जानकारी नभएकाले यसै भएको छ भन्न नसकिने उहाँको भनाइ छ ।

निगमले आइओसीसँग वार्ता गर्न निर्देशक मुकुन्द घिमिरेलाई पठाएको र रक्सौलमा रोकिएका ग्यासका बुलेटलाई भैरहवा नाकाबाट नेपाल भित्र्याउने तयारी भइरहेको जनाएको छ ।

निगमले इन्धन आयातका लागि सक्दो पहल जारी राखेको उल्लेख गर्दै प्रवक्ता बरालले राजनीतिक र कूटनीतिक प्रयास भए समस्या समाधानमा सहज हुने बताउनुभयो ।

प्रतिक्रिया