समस्या समाधानको लागि पहल भइरहेको छ: मन्त्री पाण्डे

इनेप्लिज २०७२ कार्तिक २ गते १३:३१ मा प्रकाशित

काठमाडौँ, २ कात्तिक । उद्योगमन्त्री सोमप्रसाद पाण्डेले वर्तमान असहज परिस्थितिको चाँडो समाधान गर्न सरकारले पहल गरिरहेको बताउनुभएको छ ।

कन्जुमर आई नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले भारतको अघोसित नाकाबन्दीका कारण मुख्य चाडपर्वका समयमा मारमा परेको उल्लेख गर्दै समस्या समाधानका लागि सरकार गम्भीर रहेको बताउनुभयो ।

सरकारले भूपरिवेष्ठित मुलुकको अधिकारलाई अन्तर्राष्ट्रियस्तरमा उठाउने र कूटनीतिक पहलबाट पारवहनलाई सहज बनाउनेतर्फ सरकार लागि परेकाले जटिल अवस्था नलम्बिने मन्त्री पाण्डेको दाबी थियो ।

संविधानसभाबाट जारी संविधान संसारकै उत्कृष्ठ संविधान भएको उल्लेख गर्दै उहाँले यस संविधानप्रति असन्तुष्ट हुनुपर्ने कुनै कारण नरहेको बताउनुभयो ।

कार्यक्रममा उपराष्ट्रपति कार्यालयका सचिव जीवनप्रभा लामाले चाडबाडको समयमा नाकाबन्दीका कारण उपभोक्ता मारमा परेकाले चाँडो समस्याको समाधान हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठ, कन्जुमर आई नेपालका अध्यक्ष विमला खनाल र पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष लीलेन्द्र प्रधानले उपभोक्ताको हितका लागि सरकारको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया