गैँडाको आक्रमणबाट दुईजना गम्भीर घाइते

इनेप्लिज २०७२ कार्तिक २ गते ४:१२ मा प्रकाशित

Gaidaaगौशाला, २ कात्तिक । गैँडाको आक्रमणबाट आज बिहान महोत्तरीको सोनमा गाविसमा दुईजना गम्भीर घाइते भएका छन् ।

घाइते हुनेमा सोनमा गाविस– १ बस्ने रामपुकार ठाकुरकी पत्नी ३७ वर्षीया निर्मला देवी र भतिजी १० वर्षीया रामतोला ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

रघुनाथपुर गाविस– ७ स्थित मरहा खोला हुँदै जङ्गल क्षेत्रबाट आएको गैँडाले बिहान ७ बजेको समयमा शौचालयका लागि खोलातिर गएका दुवैजनालाई आक्रमण गरी गम्भीर घाइते बनाएको प्रहरी नायब उपरीक्षक विनोद सिलवालले बताउनुभयो ।

गैँडाले आफ्नो सिङले दुवैजनाको टाउको, अनुहार र शरीरका विभिन्न भागमा घाउ बनाएको छ भने दुवैजना गम्भीर घाइते भएको प्रहरी नायब उपरीक्षक सिलवालले उल्लेख गर्नु भयो ।

गैँडाको आक्रमणमा परी गम्भीर घाइते भएका दुवैजनालाई स्थानीय क्लिनिकमा प्राथमिक उपचार गराई विशेष उपचारका लागि अञ्चल अस्पताल जनकपुर पठाइएको प्रहरीले जनाएको छ ।
आक्रमणकारी गैँडा पुनः मरहा खोला हुँदै जङ्गलतिर भागेको प्रत्यक्षदर्शी स्थानीय बासिन्दाले बताएका छन् ।

प्रतिक्रिया