आर्सेनिकयुक्त पानीको प्रयोग गर्न बाध्य छन् मुक्त कमैया

इनेप्लिज २०७२ कार्तिक २ गते ४:०३ मा प्रकाशित

arsenikकञ्चनपुर, २ कात्तिक । कञ्चनपुरको झलारी पिपलाडी नगरपालिकास्थित नौखरी मुक्त कमैया बस्तीका ६०० भन्दा बढी मुक्त कमैया परिवार आर्सेनिकयुक्त पानीको प्रयोग गर्न बाध्य छन् ।

शुद्ध पेयजलको व्यवस्था नहुँदा यहाँका मुक्त कमैया परिवार डेढ दशकदेखि आर्सेनिकयुक्त पानीको प्रयोग गर्दै आएका हुन् ।

तीन वर्षअघि यस क्षेत्रमा कार्यरत गैससले मुक्त कमैयाका बस्तीका हेन्डपम्प चेकजाँच गर्दा अधिकांशमा आर्सेनिक फेला पारेको थियो ।

चेकजाँच गरिएकामध्ये आधाभन्दा बढी हेन्डपम्पको पानी प्रयोग गर्न अनुपयुक्त ठहर गरेको थियो ।

यस्तो पानी जनावरलाई समेत खुवाउन नहुने चेकजाँचमा खटिएका प्राविधिकहरुले बताए पनि पिउने पानीको अर्को विकल्प नहुँदा जान्दाजान्दै पनि स्वास्थ्य जोखिममा पारेर आर्सेनिकयुक्त पानीको प्र्रयोग गरिँदै आएको स्थानीयवासी भागीराम चौधरीले बताउनुभयो ।

चुरेको फेदीको बस्ती भएकाले २५ फिटभन्दा मुनि हेन्डपम्प गाड्दा ढुङ्गा लाग्ने भएकाले समस्या रहेको पल्टा चौधरीले भन्नुभयो – “माथिल्लो तहमा आर्सेनिक छ त्योभन्दा मुनि हेन्डपम्प गाड्न सकिँदैन ।”

कपडा सफा गर्दा आर्सेनिकका कारण कपडा पहेँलो हुने र भाँडाकुडाँमा पहेँलो दाग बस्ने गरेको समस्यासमेत रहेको कलावती चौधरीले बताउनुभयो ।

बस्तीका मुक्त कमैया परिवारका अनुसार धेरैमा आर्सेनिकयुक्त पानीको प्रयोगका कारण पत्थरीको समस्यासमेत देखापरेको छ ।

शुद्ध पेयजलको व्यवस्थाका लागि विभिन्न निकायमा तीन वर्षदेखि माग गर्दै आए पनि कुनै निकायबाट सहयोग नपाइएको मुक्त कमैया अगुवा जगन्नाथ चौधरीले बताउनुभयो ।

स्वास्थ्यकर्मीका अनुसार ५० पिपिवीभन्दा बढी आर्सेनिक भएको पानी स्वास्थ्यका लागि हानिकारक मानिन्छ । यस्तो पानीको प्रयोगले गर्भवती महिलामा क्यान्सरको समस्या र त्यस्तो पानीको लगातार प्रयोगले आर्सेनिकोसिस भन्ने रोग लाग्छ । पछि गएर क्यान्सरको खतरा बढी हुन्छ ।

यस्तो पानीको प्रयोग व्यक्तिगत सरसफाइ र पिउने कार्यमा समेत ल्याउन नहुने स्वास्थ्यकर्मीहरुको भनाइ रहेको छ । यस मुक्त कमैया बस्तीमा ६४८ परिवार बस्दै आएका छन् ।

प्रतिक्रिया