छुवाछुत अझै कायम

इनेप्लिज २०७२ कार्तिक २ गते ३:४१ मा प्रकाशित

Morang_district_location_mapपथरी (मोरङ), २ कात्तिक । मोरङको पुरानो सदरमुकाम रङ्गेली नगरपालिका–५ स्कुल टोलमा रहेको डोम समुदायलाई त्यहाँका होटलहरुले पैसा तिर्दासमेत खान नदिएको गुनासो गरेका छन् ।

स्कुल टोलका सुरेश मल्लिकले डोम समुदायलाई घृणित व्यवहार गरेका कारण बजारका पसलमा समेत चिया खान आफ्नै घरबाट गिलास लिएर जानुपर्ने अवस्था रहेको बताउनु भयो ।

उहाँले सरकारी वा निजी सङ्घसंस्था वा सडकको सरसफाइ मजदुरको काम गर्दै आएका डोम समुदायलाई समाजले सधँै तल्लो जातको भनेर घृणा गर्ने गरेको गुनासो गर्नुभयो । “हामी मान्छे नै हौँ तर पनि हामीलाई मानवीय व्यवहार छैन भावुक हुँदै उहाँले भन्नुभयो “हामीप्रति किन यस्तो व्यवहार भइरहेको छ ।”

‘डुम समुदाय’ भन्दै समाजले उहाँलाई मात्र होइन स्कुल टोलमा बस्ने १० घरपरिवारलाई नकारात्मक व्यवहार गर्दै आएको बताइन्छ ।

रङ्गेलीमा सञ्चालित बहुसङ्ख्यक होटलले सो समुदायका सर्वसाधारणलाई पैसा तिर्दासमेत खान नदिएको गुनासो गर्दै आएका छन् ।
रङ्गेलीका होटलले ग्राहक भड्किन्छ भन्दै चियासमेत खान नदिने सो समुदायको गुनासो छ ।
आफूहरुले भोग्दै आएको समस्याप्रति सरकार मौन रहेको उहाँले गुनासो गर्नुभयो । “होटलमा चिया माग्यो भने खै गिलास भन्छन्” –उहाँले भन्नुभयो – “तपाईंकै गिलासमा दिनु न भन्दा चिनी छैन भन्दै फर्काउँछन् ।” बाहिरबाट पाहुना आए बजार लैजान गाह्रो हुने स्थानीय जीवन मरिक बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ – “हामी त जसोतसो सहेर बसेका छौँ तर, पाउना आए , चिया खुवाउनका लागि बाहिर लैजान पनि लाज लाग्छ ।”

जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन बने पनि रङ्गेलीका डोम समुदायले भने अझै मानवीय व्यवहार पाउन सकेका छैनन् । जातीय भेदभाव र छुवाछूतले जरो गाडेको समाजमा उनीहरू सधैँ हेपिन बाध्य छन् ।

विसं २०६८ जेठ १० गते व्यवस्थापिका–संसद्बाट पारित ऐनमा छुवाछूत गर्नेलाई एक महिनादेखि तिन वर्षसम्म कैद र रु २५ हजारसम्म जरिवाना गराउने उल्लेख छ ।

प्रतिक्रिया