लायन्सले क्यान्सर अस्पतालमा उपकरण खरिद गर्ने

इनेप्लिज २०७२ असोज २४ गते ४:२६ मा प्रकाशित

रत्ननगर (चितवन), २४ असोज । लायन्स क्लबले चितवनमा रहेको विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा प्रयोग हुने मेमोग्राम खरिद गर्न प्रक्रिया सुरु गरेको छ ।

करिब रु एक करोड २५ लाखका उपकरण खरिद प्रक्रिया सुरु गरिएको लायन्स क्लब अफ इन्टरनेसनल ३२५ बी२ का डिस्ट्रिक प्रथम भाइस गभर्नर घनश्याम भट्टराईले जानकारी दिनुभयो । उक्त उपकरण स्तन क्यान्सरको परीक्षणमा प्रयोग गरिनेछ ।

लायन्स क्लब अफ इन्टरनेसनलबाट रु ८५ लाख र चितवनको भरतपुर क्षेत्रमा रहेको लायन्स क्लबले बाँकी रकम खोजेर रु एक करोड २५ लाखको उपकरण खरिद गर्न लागिएको हो ।
चितवनको रत्ननगरस्थित सौराहामा लायन्स क्लब अफ चितवन सौराहाको संयोजनमा भएको संयुक्त पदस्थापन कार्यक्रममा लायन्स क्लब अफ इन्टरनेसनल ३२५ बी२ का डिस्ट्रिक गभर्नर डिके ढुङ्गानाले क्यान्सर अस्पतालसँगै वीरगन्जमा रहेको आँखा अस्पतालमा उपकरण खरिदका लागिसमेत लायन्स क्लब अफ इन्टरनेसनलले रु एक करोड ५० लाख सहयोग गर्न लागेको जानकारी दिनुभयो ।

उहाँले भूकम्प प्रभावित क्षेत्रमा करिब रु एक अर्बको एक हजार घर र ५० वटा स्कुल निर्माणको प्रक्रियासमेत चलिरहेको बताउनु भयो ।

उहाँले रु ५० करोड सङ्कलन भइसकेको र बाँकी रकम सङ्कलनका क्रममा रहेको उल्लेख गर्नु भयो ।
यस्तै लायन्स क्लब अफ चितवन सौराहा, लायन्स क्लब अफ रत्ननगर, लायन्स क्लब अफ चितवन इष्ट, लियो क्लब अफ चितवन सौराहा, लियो क्लब अफ चितवन इष्टलगायतको पदस्थापन भएको छ ।

प्रतिक्रिया