सुधारिएको चुलो प्रयोग गर्नेको सङ्ख्या बढ्दै

इनेप्लिज २०७२ असोज १९ गते ३:५३ मा प्रकाशित

sudhariyeko-chuloखजुरा (बाँके), १९ असोज । बाँके जिल्लामा सुधारिएको चुलो प्रयोग गर्ने बढ्दै गएका छन् । सरकारले सन् २०१७ सम्म नेपाललाई धुवाँरहित राष्ट्र बनाउने योजनाका साथ जिल्ला विकास समितिमार्फत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

जिल्लामा पनि हालसम्म ७०० बढीले धुवाँरहित चुलो बनाइसकेका छन् । अहिले बाँकेमा धुवाँरहित चुलो अर्थात् सुधारिएको चुलो बनाउने लहर नै चलेको छ ।

सबै गाविस तथा उपमहानगरपालिकाका केही क्षेत्रमा सुधारिएको चुलो बनाउन सबैलाई सचेत बनाएको जिल्ला विकास समिति बाँकेका ऊर्जा अधिकृत रामबाबु यादवले बताउनुभयो ।

उहाँका अनुसार बाँकेलाई सन् २०१६ मै धुवाँरहित जिल्ला बनाउने योजनाअनुसार कार्यक्रम भइरहेका छन् । धुवाँरहित चुलो कम खर्चिलो र स्वास्थ्यका हिसाबले पनि उपयुक्त हुनेछ ।

पछिल्लो समय जिल्लामा धुवाँरहित चुलो प्रयोगकर्ता बढ्दै गएकाले तोकिएको समयमै धुवाँरहित जिल्ला घोषणा गर्न सफल हुने यादवको दाबी छ ।

घरमै पाइने सामान्य सामग्रीहरुको प्रयोग गरेर पनि चुलो बनाउन सकिने र लागत खर्च कम्तीमा रु एक हजारसम्म लाग्ने गर्छ ।

अन्य चुलोमा खाना पकाउँदा दाउरा पनि धेरै खर्च हुने हँुदा वन जङ्गलको संरक्षण र राम्रो स्वास्थ्यका लागि सरकारले यस्तो कार्यक्रम ल्याएको हो ।

प्रतिक्रिया