महोत्सवबाट नेपाल सुरक्षित छ भन्ने सन्देश दिनुपर्ने: मन्त्री शेर्पा

इनेप्लिज २०७२ असोज ९ गते १२:१८ मा प्रकाशित

kripa-sur-sherpaपोखरा, ९ असोज । संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री कृपाशुर शेर्पाले वैशाख १२ गतेको भूकम्पले अन्तर्राष्ट्रिय जगतमा पर्यटकीय क्षेत्रमा पुर्‍याएको असरलाई न्यूनीकरण गरी थप टेवा दिन हिमालयन हवाई महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ ।

विश्व पर्यटन दिवसका अवसरमा नेपाल हवाई खेलकुद संस्था पोखराद्वारा आजदेखि यहाँ सुरु भएको हिमालयन हवाई महोत्सव गरुढा फनको शुभारम्भ गर्दै उहाँले पर्यटकीय गन्तव्य सुरक्षित रहेको र साहसिक एवम् मनोरञ्जनात्मक खेलकुद कार्यक्रम भइरहने सन्देश अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्‍याउनुपर्नेमा जोड दिनुभयो ।

मन्त्री शेर्पाले रङ्गीविरङ्गी र भगवान् गणेश, शिव, पार्वतीको रुप धारण गरेर आकाशमा प्याराग्लाइडिङ गरेको दृश्यले पोखराको पर्यटन प्रवद्र्धन गर्न सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रिय पर्यटन प्रवद्र्धन समितिका संयोजक गोविन्द पहारीले भूकम्पपछि खस्कोको पर्यटन व्यवसायलाई यस महोत्सवले थप टेवा दिने बताउनुभयो ।

भूकम्पपछि हाल जनजीवन सामान्यमा फर्किएको सन्देश विश्वसामु दिई नेपालका अधिकांश पर्यटकीय गन्तव्य सुरक्षित रहेको र पोखरामा साहसिक खेलको गतिविधि निरन्तर भइरहेको सन्देश दिने उद्देश्यले कार्यक्रम गरिन लागिएको संस्थाका कार्यबाहक अध्यक्ष सोवित बानियाँले जानकारी दिनुभयो ।

पोखराको आकाशमा आज र भोलि प्याराग्लााइडिङ,अल्ट्रालाइट र पावर प्याराग्लाइडिङ ( प्यारा मोटर) बाट डेमोका रुपमा रङ्गीविरङ्गी हुँदै विभिन्न वेषभूषामा ध्वजापताका सहित प्रदर्शन गरिने गरिएको छ ।

त्यसैगरी अल्ट्रालाइट तथा पावर प्याराग्लाइडिङबाट रङ्गीविरङ्गी आकाशमा धुवाँ फाल्ने र रिवनको प्रदर्शनीसमेत भइरहेको छ ।

यस मनोरञ्जनात्मक महोत्सवमा नेपाली ३५ र विदेशी १५ जना पाइलटको सहभागिता रहेको छ ।

कास्कीको सराङकोटबाट विभिन्न ध्वजापताका तथा वेषभूषामा सजिएका पाइलट उडान गरी फेवातालको किनार खपौदीमा अवतरण गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया