निषेधाज्ञाबाट सर्वसाधारण आजित

इनेप्लिज २०७२ असोज ६ गते ७:४१ मा प्रकाशित

धनगढी, ६ असोज । “सटर छिटो बन्द गर, निषेधाज्ञा लाग्ने समय भइसक्यो” स्थानीय बजारका व्यापारीबीच निषेधाज्ञा लाग्ने समय आउँदा दिनहुँ यस्तै संवाद हुने गर्दछ ।

मध्याह्नको समयमा यहाँ निषेधाज्ञा लाग्ने समय आउँदा बजार क्षेत्रमा धमाधम सटर बन्द गरेर व्यापारी आफ्नो निवासतर्फ जान हतारिएका देखिन्छन् भने किनमेल र अन्य काम विशेष बजारमा आएका सर्वसाधारण पनि आफ्नो गन्तव्यतिर जान हतारिने गर्दन्छन् ।

विगत एक महिनादेखि निरन्तर जारी निषेधाज्ञाका कारण कैलालीको सदरमुकाम धनगढी नगर क्षेत्रसहित, टीकापुर, भजनी–त्रिशक्ति नगर क्षेत्र र आसपासका बस्तीका वासिन्दाको यस्तो दिनचर्या रहने गरेको छ ।

“लगातारको निषेधाज्ञाका कारण आफूहरुको दैनिकी नै फेरिन पुगेको छ, स्थानीय व्यापारी टेकबहादुर सिंहले भन्नुभयो, “अन्य ठाउँबाट सदरमुकाम धनगढी आउन चाहनेले पनि निषेधाज्ञाको तालिकाको पूर्व जानकारी लिएर मात्रै आफ्नो समय तालिका बनाउने गरेका छन् ।”

निषेधाज्ञा जारी रहँदा व्यापार व्यवसाय चौपट भएको व्यापारी चन्द्रदेव भट्टले गुनासो गर्नुभयो । टीकापुरमा भएको हिंसात्मक घटनापछि त्यहाँ निषेधाज्ञा जारी गरिए पनि धनगढीमा निषेधाज्ञा हटाउन सकिने भट्ट बताउनुहुन्छ ।

जारी हुने गरेको निषेधाज्ञा र विभिन्न पक्षले एक हप्ता अघिसम्म गरेको बन्द हडतालका कारण हुने खाने वर्गभन्दा गरी खाने वर्गलाई नराम्रोसँग प्रभावित पारेको स्थानीयले बताएका छन् ।

आफ्नो जीवनमा सरकारले लगाउने ‘कफ्र्यु‘ केहो र कस्तो हुन्छ भन्ने अनुभूति पहिलोपटक भएको छ, स्थानीय समाजसेवी शेरसिं खड्काले भन्नुभयो–“विद्यार्थीको पढाइ, सर्वसाधारणको दैनिक काम र व्यापार व्यवसाय नराम्रोसँग प्रभावित हुँदा पनि समस्या समाधानका लागि जिम्मेवार दल, पक्ष र निकाय गैरजिम्मेवार जस्ता देखिन थालेका छन् ।”

कैलाली जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी उदयबहादुर सिंह शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गरी स्थानीय प्रशासनले लगातार निषेधाज्ञा जारी गर्नुपर्ने अवस्था आएको बताउनुहुन्छ ।

खासगरी सङ्घीयताको सीमाङ्कन आ–आफ्नो अनुकूलको हुनुपर्ने मागसहित विगतमा छुट्टाछुट्टैरुपमा भएको अखण्ड सुदूरपश्चिम पक्षधर र थरुहट पक्षधरको आन्दोलनसँगै यी दुई समुदायबीच बढेको दूरीकै कारण जिल्लामा सुरक्षा चुनौती पनि बढेको देखिन्छ । टीकापुर घटनासँगै सभासद् जनकराज चौधरीसहित स्थानीय सर्वसाधारणका घर पसलमा भएको तोडफोडको घटनापछि यी दुई समुदायका बीच दूरी थप टाढिएको थियो ।

दुवै पक्षधरले आफूहरुको राज्यसँग माग रहेकाले आपसमा दूरी बढाई सद्भाव खलबलिन दिनु नहुने अभिव्यक्ति दिँदै आएका छन् । राजनीतिक नेता कार्यकर्ता तहमा आन्दोलनका क्रममा आ–आफ्ना मुद्दा उठान गर्ने विषयलाई लिएर यी दुई समुदायबीचको सम्बन्ध केही टाढिएको जस्तो देखिएको भए पनि आमरुपमा दुवै समुदाय (थारु पहाडी)बीचको सम्बन्धमा कुनै असर नपरेको थारु तथा पहाडी समुदायका कतिपय जानकार बताउँछन् ।

सङ्घीयताको सीमाङ्कनसहित नेपालको संविधान २०७२ जारी भइसकेको अवस्थामा पनि अखण्ड सुदूरपश्चिम पक्षधरले आफ्नो आन्दोलन स्थगित गरेको भए पनि थरुहट÷थारुवान पक्षधरले आजसम्म पनि आन्दोलन जारी राखेको छ ।

आन्दोलन चर्किदै जाँदा टीकापुरमा गएको भदौ ७ गतेको थरुहटको प्रदर्शनका क्रममा भएको झडपमा आठ प्रहरी र एक बालको मृत्यु भएपछि सुरक्षा चुनौती थप बढेको हो । फलस्वरुप स्थानीय प्रशासनले घटनालगत्तैबाट टीकापुर नगरपालिका र आसपासको भजनी–त्रिशक्ति नगरसहित अन्य गाविस क्षेत्रमा निषेधाज्ञा जारी गर्दै आएको छ । यी क्षेत्रलाई दङ्गाग्रस्त क्षेत्रसमेत घोषणा गरी सेनासमेत परिचालन गरिएको छ ।

चौबीस घन्टे निषेधाज्ञा लगाउने गरिएकामा पछिल्लो केही दिनदेखि बिहानको समयमा यी क्षेत्रमा निषेधाज्ञा हटाउने गरिएको छ । टीकापुर घटनाको दोस्रो दिनदेखि सदरमुकाम धनगढीमा जारी गरिएको निषेधाज्ञा मङ्गलबार एक महिना पुगेको छ । हिजो पनि दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्म धनगढीमा निषेधाज्ञा यथावत् रहँदा टीकापुर र आसपासका क्षेत्रमा आज बिहान ५ बजेदेखि दिउँसो २ बजेसम्म निषेधाज्ञा हटाइएको छ ।

प्रतिक्रिया