अनिश्चितकालीन आमहड्तालका कारण औषधिको अभाव

इनेप्लिज २०७२ असोज ६ गते ७:३६ मा प्रकाशित

medical-storeमहोत्तरी, ६ असोज । मधेस आन्दोलनका कारण यातायात ठप्प भएपछि जनकपुर अञ्चलभरि अत्यावश्यक औषधिको अभाव देखिएको छ ।

‘एक छाक खाना नखाए हुने तर एक खोराक औषधि तत्कालै चाहिने’ औषधि पनि बजारमा अभाव भएको हो ।

जनकपुर अञ्चल औषधि व्यवसायी सङ्घका उपाध्यक्ष शम्भुप्रसाद भट्टराईले सर्लाही, महोत्तरी, सिन्धुली, धनुषा, रामेछाप र दोलखा जिल्लामा सञ्चालित औषधि पसलमा औषधिको चरम अभाव हुँदै गरेको बताउनुभयो । रक्तचाप, मधुमेह, मुटुरोग लगायतका बिरामीले दैनिक खाने ५० पैसाको क्याप्सुलको पनि अभाव देखिएपछि बिरामी निकै मारमा परेका सङ्घका उपाध्यक्ष भट्टराइले बताउनुभयो ।

“नभई नहुने, दैनिक चाहिने औषधि सकिएको एक हप्ता भयो”– शान्ता मेडिकल हल बर्दिवासकी सञ्चालिका मन्दिरा भट्टराईले भन्नुभयो– “पे्रसर, सुगरजस्ता १०० बिरामी मेरो औषधि पसलको दैनिक ग्राहक छन् । उनीहरुले औषधि किन्न पाएका छैनन् ।”

पहिले फोनकै भरमा आफ्नो अस्पतालकोे फार्मेसीमा उपलब्ध हुने औषधि अहिले मान्छे पठाएर पनि पाउन कठिनाइ बेहोर्नु परेको बर्दिवासस्थित शुभस्वस्ति हस्पिटलका एक सदस्य प्रदीप कार्कीले बताउनुभयो । एउटा मान्छे औषधि ल्याउनकै लागि बाहिर राख्नु परेको कार्कीले बताउनुभयो ।

बिरामीलाई सबैभन्दा पहिला प्रयोग गरिने स्लाइन पानी पनि आफूसँग नरहेको निशान्त फार्मेसी गौशाला, महोत्तरीका सञ्चालक नरेशप्रसाद गुप्ताले बताउनुभयो ।

उहाँले भन्नुभयो– “पन्ध्र दिनदेखि औषधि पसलमा अति आवश्यक स्लाइन पानी पनि सकियो । बोतल र क्याप्सुल पनि अन्तिम चरणमा छ ।” बर्दिवासमा २० भन्दा बढि औषधि पसल छन् । तीनभन्दा बढी ठूला अस्पताल छन् । १० वटाभन्दा बढी क्लिनिक सञ्चालनमा छन् । रामगोपालपुरमा १५, औरहीमा आठवटाभन्दा बढी खुद्रा र थोक औषधि पसल छन् । गौशालामा औषधि पसलका चार वटा डिलर, १५ वटा खुद्रा औषधि पसल, तीनवटा ठूला अस्पताल, एक प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालित छन् । यी औषधि पसलमा धेरै प्रकारका औषधि पाउन छाडिसकेको औषधि व्यवसायी बताउँछन् ।

विगत ४० दिनदेखि मधेसमा आन्दोलन चलिरहेको छ । सडकमा सवारी गुड्न छाडेपछि औषधि ढुवानीका लागि समस्या भएको जनकपुर अञ्चल औषधि व्यवसायी सङ्घका अध्यक्ष गणेशप्रसाद साहले बताउनुभयो । उहाँले भन्नुभयो– “रिक्सा चालकदेखि राष्ट्रपति सम्मलाई चाहिने जीवनरक्षक स्लाइन पानीको मौज्दात पनि अन्तिम चरणमा छ । औषधि व्यवसायीले औषधि ल्याउन नपाएको धेरै भइसक्यो ।”

हवाईमार्गबाट पनि औषधि ल्याउने अवस्था नरहेको भन्दै उहाँले भन्नुभयो– “सडक मार्ग आन्दोलनले बन्द छ । सवारी चलेको छैन । औषधि प्लेनमा ल्याउन सक्ने अवस्था पनि छैन । बन्दका कारण यात्रु प्लेनमै बढी आउँछन् । प्लेनमा यात्रुको सरसामान र यात्रुले नै भरिभराउ हुन्छ । त्यसले गर्दा प्लेनले पनि औषधि ढुवानी गर्न मान्दैनन् ।”

अतिआवश्यक औषधि नेपालमा भित्रिने मधेसका मुख्य भारतीय नाका वीरगन्ज, भैरहवालगायतका स्थानमा आन्दोलनकारीले सडक जाम गरेपछि औषधि ढुवानी प्रभावित बनेको औषधि व्यवसायिले बताएका छन् । औषधि पाउन छाडेपछि गाउँघर, सहरबजारका बालबालिका र वृद्धवृद्धा विभिन्न विमारका कारण जीवनमरणको दोसाँधमा सङ्घर्ष गरिरहेको बर्दिवासका एक चिकित्सक राघो चौधरीले बताउनुभयो ।

डिलरमा औषधि नभएपछि पसलमा औषधि भेट्ने कुरो छैन । मधेस तराईका जिल्लामा भएका मुख्य औषधि डिलरमा सडक बन्दले कैयौँ दिनदेखि औषधि स्टक हुन नसकेको औषधि व्यवसायी बताउँछन् । धेरैजसो औषधि भारतबाटै नेपाल भित्रिन्छ । गाउँघरमा सञ्चालित औषधि पसलमा अलिअलि अत्यावश्यक औषधि भएमात्रै हो तर सहर बजारका औषधि पसलमा त सबैतिरका औषधि किन्ने बिरामीको चाप बढेकाले अरु विभिन्न थरीका औषधिको स्टक पनि विस्तारै घट्दै गएको छ ।

राष्ट्रिय उपभोक्ता मञ्च महोत्तरीका अध्यक्ष दीपेन्द्र पराजुलीले औषधि मानवका लागि अति संवेदनशील र अतिआवश्यक वस्तु भएकाले अन्तर्राष्ट्रियस्तरमा भएका युद्धमा पनि औषधिजन्य वस्तुलाई खुल्लमखुल्ला आयात निर्यात गर्ने गराउने वातावरण देखिने बताउनुभयो ।

अहिले जारी सङ्घर्षमा जनताजनता एकआपसमा नलडौँ, सहयोगको भावना विकास गराँै, मानवताको परिचय दिउँ भन्दै औषधि व्यवसायी सङ्घले सरकार र आन्दोलनकारीले सजिलै औषधि आपूर्तिको व्यवस्था मिलाउनुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया