कालीगण्डकीमा पुलको विकल्पमा फड्केबाट वारपार

इनेप्लिज २०७२ असोज ६ गते ४:३० मा प्रकाशित

बाबियाचौर (म्याग्दी), ६ असोज । म्याग्दीको बैँसरीस्थित कालीगण्डकी नदीमा रहेको झोलुङ्गे पुल पहिरोले पुरेपछि स्थानीयवासीले बाँसको फड्के (अस्थायी पुल) निर्माण गरेर वारपार गर्न थालेका छन् ।

हिस्तानको औला, रिम, राम्चेको काफलडाँडा, भगवतीको बैँसरी र रिसिन चौतारीका बासिन्दाले श्रमदान गरेर कालीगण्डकी तर्नका लागि बाँस र काठको प्रयोग गरेर फड्के बनाएका हुन् । भगवती र राम्चे गाविसको सिमानामा पर्ने बैँसरीस्थित झोलुङ्गे पुल गत जेठ १० गते पहिरोले पुरेको थियो ।

पन्ध्र मिटर लामो फड्के निर्माण गरेपछि ६ घन्टाको बाटो ४५ मिनेटमा छोटिएको आदर्श मावि रिमका स्रोतव्यक्ति भरत पुनले जानकारी दिनुभयो । बैँसरीको पुल पहिरोले पुरिएपछि औला, रिम, काफलडाँडा र राम्चेका बासिन्दालाई सदरमुकाम बेनी आउन जानका लागि छ घन्टा घुमाउरो बाटो प्रयोग गर्नुपर्दा सास्ती भएको थियो ।

झोलुङ्गे पुल निर्माणमा ढिलाइ भएपछि दुई सय घरधुरीले पाँच दिनका दरले श्रमदान गरेर आवतजावत र ढुवानीलाई सहज गराउन फड्के बनाएका हुन् ।
राम्चे–९ काफलडाँडाको पहाडबाट खसेको पहिरोले बँैसरीमा दुईवटा झोलुङ्गे पुल पुरेको थियो । पहिरोले पुल पुरिएको ठाउँमा नयाँ झोलुङ्गे पुल निर्माण गर्न पहल गरे पनि आर्थिक स्रोत नहुँदा ढिलाइ भएको जिविसका सब इन्जिनियर बालकृष्ण पौडेलले बताउनुभयो ।

प्रतिक्रिया