जिल्ला अस्पताल खोटाङमा बिरामीको चाप

इनेप्लिज २०७२ असोज ६ गते ४:२५ मा प्रकाशित

खोटाङ, ६ असोज । जिल्लामा बिरामीको चाप एक्कासि बढेपछि जिल्ला अस्पताल खोटाङमा श्यया अभाव भएको छ । पखाला, निमोनिया, टाइफाइड, पिसाब पोल्ने, रुघाखोकी लगायतका बिरामीको चाप बढेपछि अस्पतालमा श्यया अभाव भएको हो ।

पन्ध्र श्ययाको जिल्ला अस्पतालमा बिरामीको अधिक चाप बढेपछि दैनिक १५ देखि २० जना बिरामीलाई भुइँमा राखेर उपचार गर्नुपर्ने बाध्यता भएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख चिकित्सक माधवप्रसाद लम्सालले बताउनुभयो । “दैनिक ९० देखि १०० जनाको हाराहारीमा बिरामी आउँछन्”, उहाँले भन्नुभयो, “श्यया अभावमा जटिल किसिमका बिरामीलाई मात्र भर्ना गरेर राखिएको छ ।”

बिरामीको चाप अत्यधिक बढेपछि कुरुवा बस्ने ठाउँमा समेत बिरामी राखेर उपचार गर्ने व्यवस्था मिलाइएको लम्सालले जानकारी दिनुभयो । विसं २०४८ मा स्थापना भएको अस्पतालमा अहिले ३३ जना बिरामी भर्ना भएर उपचार गराइरहेको अस्पताल स्रोतले जनाएको छ ।
यसैबीच अस्पतालमा श्यया थप्ने बारेमा मन्त्रिपरिषद्बाट निर्णय पारित भइसकेको खोटाङ क्षेत्र नम्बर २ बाट निर्वाचित सभासद् विशाल भट्टराईले बताउनुभयो । “५० श्ययाको अस्पताल बनाउने विषयमा मन्त्रिपरिषद्बाट निर्णय पारित भइसकेको छ”, उहाँले भन्नुभयो, “अब चाँडै नै टेन्डर आह्वान गरेर कामको थालनी हुन्छ ।”

प्रतिक्रिया