शान्तिका लागि सहकार्य र सम्मानको जरुरी

इनेप्लिज २०७२ असोज ६ गते २:१९ मा प्रकाशित

पथरी (मोरङ), ६ असोज । द्वन्द्वलाई सही समयमा व्यवस्थापन गरी सहकार्य र सम्मानबाट नै दिगो शान्ति स्थापना गर्न सकिनेमा जोड दिइएको छ ।

चौँतिसौँ अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा स्थानीय शान्ति समिति मोरङद्वारा मङ्गलबार विराटनगरमा आयोजित अन्तर संवाद कार्यक्रममा वक्ताहरुले सो कुरामा जोड दिएका हुन् ।
कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोग पूर्वाञ्चल क्षेत्रीय कार्यालयका निर्देशक कोषराज न्यौपानेले संसारमा युद्ध, गृहयुद्ध तथा हिंसाले कसैको उन्नति र प्रगति तथा समाजमा सद्भाव कायम हुन नसक्ने भएकाले हिंसालाई कुनै पनि स्थान दिनु नहुने बताउनुभयो ।

सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले समान इच्छा शक्ति भएका र विपरीत दिशामा भएकालाई एक ठाउँमा राखी समस्या समाधान गरी विकास तथा समृद्धितर्फ उन्मुख भएमा मात्र शान्ति र सहकार्यले साथर्कता पाउनेमा जोड दिनुभयो ।

नेकपा (एमाले) मोरङका अध्यक्ष महेश रेग्मी, एकीकृत माओवादी मोरङका अध्यक्ष गोपी आछामी, राप्रपा नेपालका मोरङका अध्यक्ष उद्धव दाहाल, मोरङ बारका विनयराज पाण्डे, महिला मानवअधिकार रक्षक सञ्जालकी डा शिवमाया तुम्वाहाम्फेलगायतले आइतबार जारी भएको नेपालको संविधान, २०७२ मा धेरै हकअधिकार समेटिएकाले कार्यान्वयन गराउनका लागि जनतालाई बुँदागत रुपमा बुझाउनुपर्ने विचार राख्नुभएको थियो ।

कार्यक्रम स्थानीय शान्ति समितिका संयोजक हरिलाल सिंहको सभापतित्वमा भएको थियो ।

प्रतिक्रिया