एम्बुलेन्ससहित तीनवटा गाडीमा तोडफोड

इनेप्लिज २०७२ असोज ५ गते ९:०९ मा प्रकाशित

ambulance7ताप्लेजुङ, ५ असोज । ताप्लेजुङमा गएराति एउटा एम्बुलेन्ससहित तीनवटा सवारी साधन तोडफोड गरिएको छ । बिरामी पुर्‍याएर पाँचथरको फिदिमबाट ताप्लेजुङतर्फ आइरहेको नेपाल ग्रामीण सेवा मञ्चको मे१च १९२६ नंको एम्बुलेन्समा तोडफोड भएको हो ।

ताप्लेजुङको दोखुमा पर्ने ल्याङ्वामा अज्ञात समूहद्वारा गाडी तोडफोड भएको प्रहरीले बताएको छ । तोडफोडबाट एम्बुलेन्सको अगाडिको भाग क्षतिग्रस्त हुनुका साथै गाडीका विभिन्न भागमा क्षति पुगेको मञ्चका अध्यक्ष दिनेश अधिकारीले बताएका छन् ।

यस्तै, ताप्लेजुङ सदरमुकाम फुङ्लिङको माथिल्लो बैंकलाइनको रोडमा समेत दुईवटा जिपमा तोडफोड भएको छ । मे१ज १९४६ र ना१ज ३२१५ नंको जिपमा तोडफोड भएको प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिनुभयो । यी दुई जिपका अगाडिका सिसा फुटेका छन् ।

यी दुईवटै जिप पार्किङ गरेर राखिएको अवस्थामा तोडफोड भएको हो । सङ्घीय लिम्बुवान पार्टी नेपालले आह्वान गरेको बन्दकै समयमा गाडीमा तोडफोड भए पनि सो पार्टीले तोडफोडको घटनामा आफूहरुको कुनै संलग्नता नरहेको बताएको छ ।

सङ्घीय लिम्बुवान पार्टी नेपालका जिल्ला उपाध्यक्ष इन्द्र श्रेष्ठले बन्दको समयमा एम्बुलेन्स, प्रेस, शव वाहन, कूटनीतिक नियोगका सवारी साधनलाई निर्वाध रुपमा सञ्चालन हुन दिएकाले तोडफोडमा आफ्नो पार्टीको सहभागिता नरहेको बताउनुभयो ।

प्रतिक्रिया