प्रचारप्रसारको अभावमा कङ्काली गाउँ ओझेलमा

इनेप्लिज २०७२ असोज ५ गते ७:४३ मा प्रकाशित

काठमाडौँ, ५ असोज । काठमाडौँ पश्चिमभेगस्थित चन्द्रागिरि नगरपालिका– २१ को शिर पुरानो नैकाप कङ्काली गाउँ पर्याप्त पर्यटकीय सम्भावना बोकेर पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ ।

प्रकृतिको अनुपम उपहारका रुपमा रहेको दर्शनीय यो गाउँ पृथ्वीनारायण शाहकै पालादेखि नै विभिन्न जातजाति तथा भाषाभाषीको प्राचीन बस्ती हो ।

सांस्कृतिक, ऐतिहासिक तथा पर्यटकीय पक्षको प्रचारप्रसार हुन नसक्दा धेरै सम्भावना बोकेर पनि यो स्थान अभैmसम्म ओझेलमा परेको स्थानीयवासीको गुनासो छ ।

स्वयम् उत्पत्ति भएकी देवीका रुपमा प्राचीनकालदेखि पूजाआजा गरिँदै आइएकी कङ्काली माईको मन्दिर रहेका कारण यो कङ्काली गाउँका रुपमा परिचित छ ।

यो गाउँ काठमाडौँको कलङ्की चोकबाट जम्मा तीन किमी टाढा रहेको छ । कङ्कालीमाई विकास सरोकार केन्द्रका अध्यक्ष दिवाकर अधिकारीका अनुसार कङ्काली गाउँ दृश्यावलोकनका साथै छोटो समयको पदयात्राका लागि उत्कृष्ट गन्तव्य हो ।

“सूर्योदय र सूर्यास्तका लागि उत्कृष्ट गन्तव्य मानिने नगरकोट, सराङ्कोट जस्ता स्थान जस्तै कङ्काली गाउँबाट पनि त्यसको भरपूर आनन्द लिन सकिन्छ,” उहाँले भन्नुभयो, “प्रचारप्रसार कै अभावमा यहाँका प्रचुर सम्भावना ओझेलमा परिरहेका छन् ।”

यहाँबाट काठमाडौँ उपत्यकालगायत यस आसपासका भूभाग छर्लङ्ग देख्न सकिने जानकारी गराउँदै उहाँले प्रसिद्ध कङ्काली मन्दिरका कारण यो स्थान धार्मिक पर्यटनको उपयुक्त गन्तव्यसमेत बन्न सक्ने बताउनुभयो ।

मन्दिरमा रहेको शिलालेखअनुसार विसं १९४२ मा स्व मेयरसिंह अधिकारीले स्वयम् उत्पत्ति भएको कङ्काली माईको मन्दिर बनाउनुभएको उल्लेख छ ।

काठमाडौँको पश्चिमभेगका प्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्यमध्ये कङ्काली गाउँ पनि महत्वपूर्णस्थल भएको सञ्चारकर्मी रोशन दानीले बताउनुभयो । “सम्भावना भएर पनि लामो समयदेखि ओझेलमा परेको कङ्काली गाउँको वास्तविकता प्रचारप्रसार गर्नुपर्ने देखिएको छ,” उहाँले भन्नुभयो, “प्रकृतिको मनोरम दृश्यावलोकनसहित लगभग दुई घन्टा समयावधिको छोटो पदयात्रा गर्न सकिनु यहाँको विशिष्टता हो ।”

प्रचारप्रसारका साथै सुविधाजनक पदमार्ग, खानेपानीको व्यवस्थापनलगायतका पूर्वाधारको विकास गर्नुपर्ने स्थानीय समाजसेवी कोमलनाथ दवाडीले बताउनुभयो ।

दक्षिणकाली, भद्रकाली, कङ्कालीलगायतका अष्टकालीमध्येकी देवी कङ्कालीको मन्दिर लामो समयदेखि यही गाउँमा स्थापित भएको बताउँदै उहाँले मनको कामना पूरा गर्ने देवीका रुपमा प्राचीनकालदेखि नै यहाँ उपत्यकाका विभिन्न ठाउँबाट दर्शनार्थी आउने गरेको उहाँले बताउनुभयो ।

‘कङ्काली गाउँ संस्कृतिको अनुपम ठाउँ’ भन्ने नाराका साथ यहाँको विकासका लागि युवा प्रचारप्रसारमा जुटेका छन् । युवा सक्रियतामा वैशाख १२ को गोरखा भूकम्प पछि यहाँको दिगो विकासका लागि गठित कङ्कालीमाई विकास सरोकार केन्द्र गठन भई उक्त संस्थाले आफ्नो क्रियाशीलता बढाएको छ ।

समाजसेवी गुणराज भट्टका अनुसार पृथ्वीनारायण शाहले पटकपटक प्रयास गरेर पनि आफ्नो एकीकरण अभियानमा विजयी हुन नसकेपछि यिनै कङ्काली माईको पूजा गरेपछि सफलता पाएको जनविश्वास पनि यहाँको अर्को विशिष्टता हो ।

दक्षिणकाली देवीकी बहिनीका रुपमा कङ्काली देवीलाई लिने गरिएको उहाँले जानकारी गराउँदै उहाँले प्राकृतिक सुन्दरता, पदयात्रा, अवलोकनलगायत यहाँका वास्तविकतालाई प्रचारप्रसार गर्नसके यो क्षेत्र चाँडै नै नमुना पर्यटकीय गन्तव्य बन्ने बताउनुभयो ।

कङ्काली मन्दिरकै नाममा विसं २०३९ मा कङ्काली मावि स्थापना भएकोमा पुरानो नैकाप क्षेत्रका धेरै सर्वसाधारण लाभान्वित हुँदै आएका छन् ।

प्रतिक्रिया