विद्यालय सञ्चालन गर्न घुम्ती कोष

इनेप्लिज २०७२ भदौ २४ गते २:५२ मा प्रकाशित

Myagdi_district_locationबाबियाचौर (म्याग्दी), २४ भदौ । म्याग्दीको बाबियाचौर–७ लरेनी गाउँका बासिन्दाले सामुदायिक विद्यालय सञ्चालन गर्न घुम्ती कोषको स्थापना गरेका छन् ।

लरेनीमा रहेको विकास प्राथमिक विद्यालयका निजी स्रोतका शिक्षकलाई तलब खुवाउन स्थानीयवासीले चन्दा सङ्कलन गरी घुम्ती कोष परिचालन गरेका हुन् । समुदायमा पैसा आवश्यक परेका व्यक्तिलाई कोषको रकम लगानी गर्ने र प्राप्त हुने ब्याजबाट निजी स्रोतका शिक्षकलाई तलब उपलब्ध गराउने गरिएको विद्यालयकी प्रधानाध्यापक शान्ताकुमारी चन्द ठकुरीले बताउनुभयो ।

उहाँका अनुसार कोषमार्फत हाल २५ जनालाई रु एक लाख ४६ हजार तीन सय ७५ परिचालन गरिएको छ । तीन÷तीन महिनामा गाउँ भेला गरी रकम फिर्ता र ब्याज सङ्कलन गर्ने गरिएको छ । विसं २०६८ मा स्थापना भएको उक्त विद्यालयमा कार्यरत निजी स्रोतका दुई शिक्षकको तलबका लागि मासिक रु नौ हजार पाँच सय आवश्यक पर्छ ।

देउसीभैलो र चन्दा सङ्कलनमार्फत कोषमा रकम जुटाउने गरिएको छ । ब्याजबाट रकम अपुग भएमा प्रत्येक घरबाट एक सय ५० रुपैयाँका दरले उठाउने गरिएको छ । कक्षा ३ सम्मको पठनपाठन हुने उक्त विद्यालयमा एक बालविकास सहयोगी कार्यकर्ताको व्यवस्था गरिएको छ । चारवटा मात्र कोठा रहेको विद्यालयमा भवन अभावका कारण कक्षा १ र २ का विद्यार्थीलाई एउटै कोठामा राखेर बहुकक्षा शिक्षण गराइँदै आएको प्रअ ठकुरीले बताउनुभयो ।

लेरनीमा बसोबास गर्ने ५० घरधुरीमध्ये ४५ घर दलित समुदायका छन् । अधिकांश गरिब, दलित, विपन्न समुदायबाट चन्दा जुटाउन समस्या भएकाले राहत अथवा दरबन्दीका शिक्षक तथा भवनको व्यवस्था गरिदिन स्थानीयवासीले माग गरेका छन् । जिल्ला शिक्षा कार्यालयको सहयोगमा यस वर्ष शौचालय निर्माण कार्य भने सुरु भएको छ । उक्त विद्यालयमा २८ बालबालिकाले अध्ययन गर्दै आएका छन् । लरेनीका बालबालिकालाई भिर, पाखा र खोल्साको बाटो भएर करिब एक घन्टा पैदल हिँडेर पढ्न जानुपर्ने समस्या भएपछि स्थानीयवासीको पहलमा विद्यालय स्थापना गरिएको हो ।

प्रतिक्रिया