संस्थानको ढिलाइले खाद्य सङ्कट

इनेप्लिज २०७२ भदौ २० गते ४:२८ मा प्रकाशित

जाजरकोट, २० भदौ । सम्बन्धित निकायको ढिलाइका कारण उत्तरी क्षेत्रका विभिन्न गाविसमा खाद्य सङ्कट चुलिँदै गएको छ ।

नेपाल खाद्य संस्थान केन्द्रीय कार्यालयले ढुवानी अनुदान पठाउन आनाकानी गरेका कारण सो समस्या परेको हो । संस्थानको सदरमुकाम खलङ्गास्थित शाखा कार्यालयमा गत वर्षको मौज्दात चामल जिल्लाका विकट चार स्थानमा रहेका खाद्य डिपोमा पठाई खाद्य सङ्कट टार्ने खाद्य व्यवस्था समितिले केही दिनअघि निर्णय गरेको थियो । तर संस्थानको केन्द्रीय कार्यालयले ढुवानी अनुदानका लागि बजेट पठाउन ढिला गरेपछि नायकवाडा, रोकायगाउँ, रामीडाँडा, सक्ला, रग्दा, भगवती, गर्खाकोट, पजारु, दशेरा, कोर्तांग, मजकोट, दहलगायतका गाविसमा खाद्य सङ्कट बढ्दै गएको छ ।

गाउँमा उत्पादन भएको अन्न सकिएको, नयाँ नपाकेको, खाद्य पसल नै नभएको र खाद्य डिपो रित्तै भएपछि ती गाविसमा सङ्कट परेको हो । केही दिनअघि बसेको जिल्ला खाद्य व्यवस्था समितिको बैठकले नायकवाडाको घाट डिपोमा ५०० क्विन्टल, रग्दाको चौखा डिपोमा ४०० क्विन्टल, पजारुको घोडी डिपोमा २०० र दशेरा डिपोमा २०० क्विन्टल चामल तत्काल पठाउन आवश्यक ढुवानी अनुदानको व्यवस्था मिलाउन खाद्य संस्थानको केन्द्रीय कार्यालयलाई आग्रह गरेको थियो । ढुवानी भाडाका विषयमा संस्थानले अहिले जानकारी लिइरहेको जनार्दन गौतम बताउनुभयो ।

यतिबेला बाटोघाटो बिग्रिएको र खाद्यान्नको निकै समस्या परेकाले ढुवानी दर बढाएर भए पनि चामल पठाउने व्यवस्था मिलाइदिन आग्रह गरिएको तर संस्थानबाट केही खबर नआएकाले चामल पठाउन ढिलाइ भएको प्रजिअ गौतमको भनाइ छ । सडक यातायातले छुन नसकेका ती गाविसबाट जिल्ला सदरमुकाम पुग्न तीन दिनको पैदल हिँड्नुपर्ने बाध्यता छ ।

प्रतिक्रिया