पर्वतमा करिब दुई हजारलाई अपाङ्ग परिचयपत्र वितरण

इनेप्लिज २०७२ भदौ १५ गते ३:३९ मा प्रकाशित

apangaफलेवास (पर्वत), १५ भदौ । महिला तथा बालबालिका कार्यालय पर्वतले आव २०७१/०७२ मा जिल्लामा एक हजार ९६६ जनालाई अपाङ्ग परिचयपत्र वितरण गरेको छ ।

कार्यालयले विभिन्न चार प्रकृतिका परिचयपत्र वितरण गरेकामा रातो परिचयपत्र पाउनेमा ८५ महिला र १२८ पुरुष, निलो परिचयपत्र पाउनेमा ३०० महिला र २१५ पुरुष, पहेँलो परिचयपत्र पाउनेमा ३०७ महिला र ४३८ पुरुष र सेतो रङको परिचयपत्र पाउनेमा १६५ महिला र ३३६ पुरुष रहेका छन् ।

कार्यालय प्रमुख सत्यदेवी अधिकारीले नयाँ ढाँचाका एक हजार ९६६ वटा परिचयपत्र वितरण गरिए पनि पुरानो ढाँचाको ५२५ वटा परिचयपत्र पनि कायमै रहेको छ भन्नुभयो ।

रातो र निलो रङको परिचयपत्र पाउनेलाई मासिक भत्ताको व्यवस्था र अन्य परिचयपत्र पाउनेलाई सरकारले आरक्षणको व्यवस्था गरेको उहाँले बताउनुभयो ।

कार्यालयले विभिन्न गाविसमा पुगेर शिविर सञ्चालन गरी परिचयपत्र वितरण गरेका कारण जिल्लाका अपाङ्ग परिचयपत्र पाउनबाट वञ्चित नभएको बताएको छ । गत आवमा कार्यालयले जिल्लाको हुवास, लुङ्खु, चित्रे, पर्वत बेनीको मिलन चोकमा शिविर सञ्चालन गरेको जनाएको छ ।

प्रतिक्रिया