न्याय परिषद् बैठक

इनेप्लिज २०७२ भदौ १४ गते १४:२६ मा प्रकाशित

काठमाडौँ, १४ भदौ । न्याय परिषद्को आजको बैठकले राजस्व न्यायाधीकरणमा तीन न्यायाधीश तोक्न नेपाल सरकारलाई नाम सिफारिस गरेको छ ।

बैठकले काठमाडौँ राजस्व न्यायाधीकरणमा पुनरावेदन पाटन अदालतका न्यायाधीश सुष्मालता माथेमा, राजस्व न्यायाधीकरण पोखरामा पुनरावेदन अदालत पोखराका न्यायाधीश सत्यराज गुरुङ र नेपालगन्ज राजस्व न्यायाधीकरणमा नेपालगन्ज पुनरावेदनका न्यायाधीश यज्ञप्रसाद बस्याललाई सिफारिस गरेको न्यायपरिषद्का सचिव कृष्ण गिरीले जानकारी दिनुभयो ।

त्यस्तै बैठकले मुद्दाको बढ्दो चाप, भौतिक संरचना र कार्यगत जनशक्ति र न्यायपालिका रणनीति योजनालाई आधार मानेर विभिन्न जिल्ला अदालतमा न्यायाधीशको ५७ दरबन्दी थप गर्ने निर्णय गरेको छ ।

काठमाडौँमा १९ जिल्ला न्यायाधीशको दरबन्दी रहेकामा १४ थप गरी ३३, ललितपुरमा पाँच दरबन्दी रहेकामा दुई थप गरी सात र भक्तपुरमा तीन दरबन्दी भएकामा दुई थप गरी पाँच कायम गरिएको छ ।

त्यस्तै झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, रुपन्देही, मकवानपुर, नवलपरासी, पर्सा, बारा, चितवन, बाँके, सर्खेत, कैलाली, कञ्चनपुर, दाङलगायत जिल्लामा पनि मुद्दाको चापलाई ध्यानमा राखेर दरबन्दी थप गरेको सचिव गिरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया