बालीघरे प्रथा अझै कायमै

इनेप्लिज २०७२ भदौ १० गते २:४२ मा प्रकाशित

Photo20140221Bardiyaगुलरिया (बर्दिया), १० भदौ । वर्षभरि फलामका सामान बनाएर र कपडा सिलाएबापत दिइने बालीघरे प्रथा (वार्षिक रुपमा एकमुष्ट ज्यालाका रुपमा अनाज) मध्यपश्चिम क्षेत्रमा अझै अन्त्य भएको छैन ।

यो प्रथालाई ठाउँअनुसार बाली घरे, खली र तिहाइका नामले समेत चिनिने गरिन्छ । धधवार–९ दफैयाका शोभाराम परियार अहिले पनि आफूले बालीघरे बालीमै कपडा सिउँदै आएको बताउनुहुन्छ । कपडा सिलाएबापत एक परिवारबाट प्रतिवर्ष २५ किलोग्राम धान लिँदै आएको र एक घरपरिवारमा भएका सम्पूर्ण सदस्यको वर्षभरिनै कपडा सिलाएमा रु एक हजारभन्दा बढी नकमाइने उहाँ भन्नुहुन्छ ।

कपडा सिलाएर मात्रै घरपरिवार पाल्नुपर्ने आफ्नो बाध्यता रहेको तर बालीघरे प्रथाबाट गुजारा चलाउन भने कठिन हुँदै आएको उहाँको भनाइ छ । बालीघरे प्रथा अन्त्यको माग गर्दै विसं २०५७ मा सिहंदरबार अगाडि प्रदर्शन गर्दा सरकारसँग मौखिक सम्झौता गरिएको भए पनि सरकारले आफूहरुको मागप्रति बेवास्ता गरेको गुनासो परियार गर्नुहुन्छ । सरकारले अनौपचारिक रुपले बालीघरे प्रथा अन्त्य भएको घोषणा गरे पनि यसलाई औपचारिक रूप नदिँदा आफूहरुले अझै पनि कपडा सिलाएरै गुजारा गर्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ ।

जिल्लामा बालीघरे प्रथामा आश्रित घरपरिवार कति छन् भन्ने तथ्याङ्क सरकारसँग छैन । बर्दियामा मात्र १५ हजार घरपरिवार बालीघरे प्रथामा आश्रित रहेको परियारको अनुमान छ । दलित परिवारका करिब ६० प्रतिशत जनसङ्ख्या यसै प्रथाबाटै गुजारा चलाइरहेको उहाँ बताउनुहुन्छ । धधवार, पदनाहा, वानियाभार लगायतका गाविसमा करिब तीन हजार दलित परिवारले बालीघरेमै जीविका चलाइरहेको उहाँको दाबी छ ।

प्रतिक्रिया