प्रधानमन्त्रीसँग प्रतिनिधि मण्डलको भेट

इनेप्लिज २०७२ साउन ३१ गते ११:२५ मा प्रकाशित

PM-Sushil-Koirala-502x250काठमाडौँ, ३१ साउन । प्रधानमन्त्री सुशील कोइरालासँग बेलायतमा अवस्थित दी गोर्खा मेमोरियल फण्डका अध्यक्ष धन गुरुङको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरेको छ ।

भेटमा नेपाली जवान गोर्खा पल्टनमा भर्ना भएर सेवा दिन थालेको २०० वर्षको इतिहास, द्विशताब्दीका अवसरमा गरिने कार्यक्रम, फण्डले नेपाल र नेपालीको हितमा गरेका कार्य र वैशाख १२ को विनाशकारी भूकम्पपछि कोषले नेपालमा गर्न चाहेका दीर्र्घकालीन कार्यका बारेमा कुराकानी भएको थियो ।

भेटका अवसरमा फण्डका अध्यक्ष गुरुङले प्रधानमन्त्री कोइरालालाई आगामी अक्टोबर ४ मा गोर्खा रेजिमेन्टको बेस भएको फोक्स्टन केन्टमा आयोजना गरिने गोर्खा मेमोरियल स्ट्याचुको उद्घाटन कार्यक्रममा सरिक हुन निमन्त्रणा पत्र प्रदान गर्नुभएको थियो ।

प्राकृतिक प्रकोप र मानवीय कमजोरीका कारण हुने दुर्घटनाबाट बच्ने उपायसम्बन्धी चेतनाको अभावका कारण नेपालमा बर्सेनि धेरै नागरिकको जीवन गुमेको निष्कर्ष निकाल्दै कोषले इन्फ्रास्ट्रक्चर ट्रेनिङ एसिस्टेन्ट प्रोग्राम (आइटिएपी) सँगको सहकार्यमा नेपालमा जनचेतना जगाउने र प्राकृतिक प्रकोप र भवितव्यमा परेका बेलामा उद्धार गर्न हरेक जिल्लामा दमकल र एम्बुलेन्स वितरण गर्ने कार्यक्रम सञ्चालन गर्न रुचि देखाएको छ ।

कोषका अध्यक्ष गुरुङका अनुसार यस कार्यक्रमअन्तर्गतको पहिलो दमकल सहयोग मेची नगरपालिकाले पाउने भएको छ । त्यस्तै पहिलो एम्बुलेन्स मेची अस्पताललाई प्रदान गरिने भएको छ ।

कोषले आगामी पाँच वर्षसम्म सञ्चालन गर्ने यस कार्यले प्राकृतिक प्रकोप र भवितव्यप्रति आमनागरिकको चेतनास्तर अभिवृद्धि गर्दै तत्काल उद्धार र उपचारको स्तर उच्च तहमा पु¥याउने लक्ष्य राखेको छ ।

भेटमा प्रधानमन्त्री कोइरालाले गत वैशाखमा गएको भूकम्पले प्राकृतिक विपद्बाट बच्नका लागि आवश्यक ज्ञान दिनुपर्ने खाँचो देखाउनुका साथै आवासीय तथा सार्वजनिक भवन र भौतिक विकासका संरचनाहरु अधिक वैज्ञानिक र मजबुत बनाउनुपर्ने शिक्षा दिएको बताउनुभयो । उहाँले भूकम्पपछि उद्धार र राहतको चरणमा बेलायतले गरेको सहयोगको पनि प्रशंसा गर्नुभएको थियो । भेटमा प्रधानमन्त्री कोइरालाले सरकारी निकायसँग समन्वय गरेर काम गर्न आग्रह गर्नुभएको थियो ।

सो भेटमा नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल, अर्थमन्त्री डा रामशरण महत र नेपाली काँग्रेसकी केन्द्रीय सदस्य तथा विदेश विभाग प्रमुख सुजाता कोइराला पनि उपस्थित हुनुहुन्थ्यो । कोषको प्रतिनिधिमण्डलमा चिफ अफ मिसन जोनाथन फ्लेग र कोषका अन्य पदाधिकारी तथा सदस्यहरुको पनि उपस्थिति थियो ।

प्रतिक्रिया