उन्मूलन भएको क्षेत्रमा कालाजार रोग भेटियो

इनेप्लिज २०७२ साउन ३१ गते ११:११ मा प्रकाशित

kalazarतिलोत्तमा (रुपन्देही), ३१ साउन । सरकारले नारायणी पश्चिम क्षेत्रलाई कालाजार रोग उन्मूलन क्षेत्र घोषणा गरे पनि रुपन्देहीमा कालाजार रोगी भेटिएका छन् ।

लुम्बिनी अञ्चल अस्पतालको तथ्याङ्कअनुसार गत वर्ष पाँचजनामा र यो वर्षको साउनको अन्तिम हप्ता दुई गरी सातजना कालाजारका बिरामी भेटिएको र उनीहरुको उपचार गरिएको छ । यस क्षेत्रमा सरकारले यो रोग नदेखिएको कारण कुनै औषधि उपचार सेवा सञ्चालन गरेको थिएन ।

गत वर्ष अर्थात् २०१४ मा प्यूठानबाट दुई, अर्घाखाँचीवाट दुई र दाङबाट एकजना गरी पाँचजना बिरामीको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार गरिएको अस्पतालका सूचना अधिकृत लक्ष्मीराज रेग्मीले बताउनुभयो । उहाँले गत शनिबार स्याङजाका एक र आइतवार पाल्पा दोभानबाट एक गरी दुईजना अस्पतालमा उपचारका लागि आएको उल्लेख गर्नु भयो ।

अस्पतालमा शनिबार आएका स्याङ्जाका देवान सिंह राना, लुम्बिनी मेडिकल कलेज पाल्पा प्रवासबाट रिफर गरिआएका हुन् भने दोभान–४ का मानबहादुर आले बिरामी भएपछि आफैँ अस्पताल आएका हुन् । उनीहरु अहिले अस्पतालमा भर्ना भई उपचार गराइरहेका छन् । कालाजार रोगी नै उपचारमा नआउने भएपछि औषधिको व्यवस्था नै नभएको अवस्थामा उपचारमा समस्या भएको अञ्चल अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र खनालले बताउनु भयो ।

प्रतिक्रिया