सोमबार, जेठ २ २०७९
काठमाडौं २१:३५
वासिङटन डिसी 11:50

सुधारिएको चुलोबाट दैनिकी फेरिँदै

इनेप्लिज २०७२ साउन ३१ गते ११:१० मा प्रकाशित

sudhariyeko-chuloपाँचथर, ३१ साउन । सराङ डाँडा–५ की रनमति पाण्डे अहिलेको भान्साको काम एक घन्टामै सक्छिन् । पहिला केटाकेटीलाई खाना बनाएर घर पठाउँदैमा समय बित्ने गथ्र्यो तर अहिले उनको दैनिकी नै फेरिएको छ ।

घरमा सुधारिएको चुलो निर्माण भएपछि उनले अहिले एक घन्टामै भान्साको काम सकेर पनि अन्य घरायसी काम गर्न भ्याउँछिन् । पहिला उनको परिवारमा छ महिना खप्ने दाउरा अहिले वर्षदिनसम्म पुग्छ । दुईवटा चुलोमध्ये एउटामा दाउरा बालेपछि निस्किएको कोइलाबाट खाना पाक्छ भने अर्कोतिर तरकारी पाक्छ ।

उनी सुधारिएको चुलो निर्माण भएपछि काममात्रै भ्याउँदिनन् । उनको स्वास्थ्य पनि राम्रो हुँदै गएको छ । उनले भनिन् – “पराम्परागत चुलोमा दाउरा र समय बढी लाग्ने, धुवाँका कारण स्वास्थ्य पनि बिग्रने, तर अहिले मलाई ढुक्क छ सहजै छिटो र सरल ढङ्गबाट खाना पकाउन सक्छु ।”

उनी त एक प्रतिनिधि पात्र मात्रै हुन् । गाउँभरिका अन्य महिला पनि सुधारिएको चुलो निर्माणपछि अहिले लाभान्वित भएका छन् । स्वास्थ्य, सरसफाइ र वातवरण संरक्षणमा टेवा पु¥याउन भन्दै सञ्चालन गरिएको सुधारिएको चुलो प्रवद्र्धन कार्यक्रमबाट बनेको चुलोबाट हालसम्म ७३ हजार ६६० जना लाभान्वित भएका छन् ।

जिल्लामा ४१ हजार ३०६ घरधुरी रहेकामा १४ हजार ७३२ घरधुरीमा सुधारिएको चुलो निर्माण भएको छ । अब अझै २६ हजार ५७४ घरधुरीमा चुलो निर्माण गर्न बाँकी नै छ ।

सुधारिएको चुलो प्रवद्र्धन कार्यक्रमका जिल्ला संयोजक इन्द्र गुरुङका अनुसार ती घरमा दाउरा धेरै खपत हुने, भान्सा कोठामा धुवाँ धेरै हुने र ढिला पाक्ने खालका परम्परागत चुलोहरु प्रयोगमा छन् । विसं २०७४ साल अर्थात् दुई वर्षपछि जिल्लाको सबै घरधुरीमा चुलो निर्माण भइसक्ने गुरुङको भनाइ छ ।

संयोजक गुरुङले हालसम्म जिल्लाको वलने, फाक्तेप, रवि, लुम्फाबुङ, थुर्प, इम्बुङ, सिदिन र नवमीडाँडा गाविसको प्रत्येक घरमा सुधारिएको चुलो निर्माण भएको बताउनुभयो । आगामी मङ्सिरसम्ममा रानिटार, ओयाम, चिलिङदेन, भारपा र पौवासारतापलाई घरभित्रको धुवाँरहित गाविस बनाउने योजना रहेको छ ।

जिल्लामा चुलो निर्माण अभियान जिल्ला ऊर्जा, वातावरण तथा जलवायु परिवर्तन शाखाको आर्थिक सहयोग तथा वैकल्पिक ऊर्जा विकास केन्द्र नेपाल (एइडिसी) को प्राविधिक सहयोगमा भइरहेको छ ।

परम्परागत चुलोमा दाउराको खपत बढ्दै जाँदा वन जङ्गल विनाश हुँदै गएको र भान्सामा काम गर्ने महिला धुवाँजन्य रोगबाट पीडित हुँदै गएकाले सुधारिएको चुलो निर्माण गर्न थालिएको हो । चुलो निर्माणका लागि प्रवद्र्धकहरु पनि जिल्लाको हरेक गाविसमा छन् ।

प्रतिक्रिया