बन्द र हडताल

इनेप्लिज २०७२ साउन ३१ गते ११:०५ मा प्रकाशित

Bandaभद्रपुर, ३१ साउन । संयुक्त मधेसी मोर्चाको पूर्व घोषित कार्यक्रमअनुसार आज गरिएको बन्द र हडतालका कारण यहाँको जनजीवन ठप्प भएको छ ।

नेकपा माओवादी पार्टी, सङ्घीय समाजवादी फोरम नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी र सद्भावना पार्टीले गएको साउन २३ गते प्रमुख चार राजनीतिक दलको सहमतिमा जारी गरेको संविधानको मस्यौदा शान्ति सम्झौता विपरीत भएको ठहर गर्दै सो मस्यौदाको खारेजीको माग गर्दै आजको बन्द कार्यक्रम आयोजना गरिएको आयोजक राजनीतिक दलको भनाइ छ ।

बन्दले झापा र मेची अञ्चलको पहाडी जिल्लाका कुनै पनि लामो तथा छोटो दूरीका सवारी साधन चल्न सकेका छैन भने बजार आंशिक रुपमा खुले पनि शैक्षिक संस्था र औद्योगिक प्रतिष्ठानहरु बन्द भएका छन् ।

यसैगरी, सङ्घीय लिम्बुवान पार्टीले पूर्वी नेपालका नौ जिल्ला लिम्बुवान राज्य घोषणा हुनुपर्ने माग गर्दै शनिबारदेखि नै बन्दको कार्यक्रम अघि सारेको छ भने तराईमा पूर्वी थारुवान कोचिला राज्य सङ्घर्ष समिति, कोचिला एकता मोर्चा र राजवंशी भाषा विकास समितिलगायतले बन्दको कार्यक्रम जारी राखेका छन् ।

बन्दका कारण जनजीवन ठप्प भए पनि कुनै अप्रिय घटना नभएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया