मधुमेह र पाठेघरको क्यान्सरबारे जनचेतना अभिवृद्धि

इनेप्लिज २०७२ साउन ३० गते ११:०३ मा प्रकाशित

पाँचथर, ३० साउन । मित्रराष्ट्र भारतको स्वतन्त्रता दिवसको अवसरमा आज यहाँ मधुमेह र पाठेघरको क्यान्सरबारे अभिमुखीकरण कार्यक्रम गरिएको छ ।

नेपाल–भारतमैत्री सङ्घ जिल्ला शाखाको आयोजनामा सञ्चालन भएको कार्यक्रममा पछिल्लो समय मानिसमा देखिएको मधुमेह र पाठेघरको क्यान्सरबारे सहभागीलाई जानकारी गराइएको थियो ।

जिल्लामा गतवर्ष ७५ जना व्यक्तिमा क्यान्सर भएको जानकारी गराइयो । जिल्ला स्वास्थ्य कार्यालय पाँचथरका चिकित्सक डा पवनजङ्ग रायमाझीका अनुसार महिलामा ३६ जना, पाठेघरको समस्या नौजना, स्तनपान पाँच र अन्य फोक्सो, हड्डीलगायत अन्य स्थानमा २२ जनाको क्यान्सरको समस्या देखिएको छ ।

मानिस पछिल्लो समय आरामदायी र विलासी जीवन बिताउने भएका कारण मधुमेह र क्यान्सरको रोगी बढ्दै गएकाले पनि यसबारे व्यक्तिलाई अभिमुखीकरण दिनु आवश्यकता रहेकोले कार्यक्रमको आयोजना गरिएको सङ्घका अध्यक्ष सावित्री गुरुङले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम घिमिरे, स्थानीय विकास अधिकारी तुलसीबहादुर श्रेष्ठ, उद्योग वाणिज्य सङ्घ पाँचथरका अध्यक्ष मित्रप्रसाद काफ्ले, वरिष्ठ उपाध्यक्ष गोविन्द ढकाल, आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् जिल्ला अध्यक्ष विर्खबहादुर वाइबालगायतले सङ्घले नेपाल–भारतबीच सम्बन्ध समधुर हुने खालका सामाजिक गतिविधिलाई अघि बढाउने कार्यक्रम गर्न सुझाव दिनुभएको थियो ।

प्रतिक्रिया