शुक्रबार, असार ४ २०७८
काठमाडौं ००:१५
वासिङटन डिसी 14:30

बाख्राको मासु बिक्री

इनेप्लिज २०७२ साउन ३० गते १०:४८ मा प्रकाशित

Masu-300x225पथरी (मोरङ), ३० साउन । विराटनगरको बजार क्षेत्रका दर्जन बढी खसी मासु पसलमा बाख्राको मासुको बिक्री वितरण हुने गरेको छ ।

विराटनगर–२० स्थित वासिर फ्रेस हाउसमा बाख्रा काट्दै गरेको अवस्थामा सञ्चारकर्मीको एक टोलीले आज फेला पारेको छ । सो फ्रेस हाउसको बधशालामा दुई बाख्रा काटेर भुत्ल्याउँदै गरेका अवस्थामा भेटिएको थियो ।

फ्रेस हाउसका सञ्चालक मोहमद वासिरले होटलका लागि बाख्राको मासु काटे पनि उपभोक्तालाई बेच्न चाहिँ खसी नै काट्ने गरेको बताउनुभयो । बाख्रा भुत्ल्याउँदै गर्नुभएका बलन हुस्सेनका अनुसार सधैँ बाख्रा नै काट्ने गरेको तर राजखानी चाहिँ खसीको जोडेर सिउने र बाहिर झुन्ड्याउने गरेको बताउनुभयो ।

विराटनगरका बहुसङ्ख्यक खसीको मासु बिक्री गरिने पसलमा उपभोक्तालाई बाख्राको मासु भिडाउने काम भइरहेको स्थानीय उपभोक्ता रमानन्दन साहले बताउनुभयो । त्यहाँ मात्र होइन यहाँ सञ्चालित दर्जनभन्दा बढी मासु पसलले उपभोक्तालाई बाख्राको मासु बिक्री गर्ने गरेको उपभोक्ताको गुनासो छ ।

त्यस्तै संयुक्त टोल नगर समन्वय समितिका संयोजक राजेश मास्केले खसीको मासु बेच्ने मासु पसलले उपभोक्तालाई बाख्राको मासु पनि बिक्री गर्ने गरेको बताउनुभयो । मास्केका अनुसार यस्ता पसलमाथि प्रशासनले छानबिन गरी कारबाही गर्नुपर्ने बताउनुभयो ।

विराटनगर उपमहानगरपालिकाका पशुपक्षी शाखाका प्रमुख हिरालाल यादवले बाख्राको मासु बिक्री गरेको पाइएको सकेसम्म कारबाही गरिएको बताउनुभयो ।

प्रतिक्रिया