सङ्घीय प्रदेशको सीमाङ्कन परिमार्जन हुन सक्छ: उपप्रम सिंह

इनेप्लिज २०७२ साउन ३० गते १०:२८ मा प्रकाशित

Prakashman-signकाठमाडौँ, ३० साउन । उपप्रधानमन्त्री प्रकाशमान सिंहले संविधानको मस्यौदामा प्रस्तावित सङ्घीय प्रदेशको सीमाङ्कनबारे परिमार्जन हुन सक्ने बताउनुभएको छ ।

एक्टिभिस्ट नेपालले आज बिहान आयोजना गरेको कार्यक्रममा उपप्रधानमन्त्री सिंहले भन्नुभयो,“ सबै नेपालीको भावना समेटिने गरी छ प्रदेशको अवधारणा ल्याइएको हो, सीमाङ्कनको विषयमा कतिपय जिल्ला र क्षेत्रको असन्तुष्टि बढेको छ, त्यसका लागि विशेष समितिको बैठक पनि बस्दैछ, जनचाहनाबमोजिम सीमाङ्कनको प्राविधिक कुरा मिलाउन सकिन्छ तर प्रदेशको सङ्ख्या परिवर्तन गर्न सकिन्न । ”

उहाँले चाँडो लिखित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधान जारी गरेर सरकारले नेपालका स्रोतको भरपुर उपयोग गरी विकास निर्माणको कामलाई गति दिने बताउनुभयो ।

यसैबीच सहरका युवालाई सकारात्मक क्रियाकलाप र विकास निर्माणमा अभिप्रेरित गर्ने उद्देश्यले एक्टिभिस्टले ‘सुरक्षित सहर अभियान’ सुरु गरेको छ । अभियानको उद्घाटन गर्दै उपप्रधानमन्त्री सिंहले देशका ४० प्रतिशतभन्दा बढी युवा शक्तिलाई स्वदेशमा उपयोग गर्ने वातावरण सिर्जना गरिनुपर्नेमा जोड दिनुभयो ।

अभियानका संयोजक मोतीलाल लामाले युवालाई विदेश पलायन रोक्न र समाजमा रचनात्मक कार्यमा लगाउने उद्देश्यले अभियान सुरु गरिएको जानकारी दिनुभयो । सो अवसरमा संस्थाका तर्फबाट काठमाडौँ क्षेत्र नं १ का विद्यालयबाट प्रवेशिका परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया