भिरबाट ढुङ्गा झरेपछि गाउँले समस्यामा

इनेप्लिज २०७२ साउन ३० गते २:४४ मा प्रकाशित

गोरखाबजार, ३० साउन । बारपाकको राङरुङबेंसी हुँदै सौरपानी गाविसको रञ्चोक, कुलगाउँ आवतजावत गर्ने गोरेटो बाटोमा ढुङ्गा खसेपछि स्थानीयवासी समस्यामा छन् ।

गाउँदेखि बालुवाबजार आवतजावतका गर्ने मुख्य गोरेटो बाटोमा रहेको भिरबाट निरन्तर ठूला ढुङ्गा खसेपछि गाउँ छाडेर स्थानीयवासी अन्यत्र जान सकेका छैनन् ।

“कुम्दुले र लुरुङ भिरबाट ठूला ढुङ्गा खसेको छ” सौरपानी गाविस–९ कुलगाउँका सुकबहादुर गुरुङले भन्नुभयो, “दुई दिन भयो गाउँलेहरु गाउँ बाहिर जान सकेका थिएनन् ।” गाउँको पसलमा नुन, तेल, खुर्सानीजस्ता दैनिक उपभोग्य सामग्री सकिएको भन्दै उहाँले बालुवा बजार जान कठिन भएको बताउनुभयो ।

वैशाख १२ गते गएको बिनाशकारी भूकम्पले रञ्चोक, कुलगाउँ, बारपाक–१ को पोखरी गाउँका अधिकांश भूभाग चिराचिरा परेको थियो । “भूकम्पले चिरिएको भिरलाई पानीले गलाएको छ” उहाँले भन्नुभयो, “कुलगाउँ, रञ्चोक र पोखरी गाउँ पुग्ने बाटोमा पहिरो नै पहिरो छ । ढुङ्गा खसिरहेको छ ।” वर्षापछि जमिन गलेपछि पहिरोको जोखिम बढेको उहाँको भनाइ छ ।

उहाँले वैकल्पिक बाटो निर्माणका लागि जिल्ला दैवीप्रकोप उद्धार समितिले सहयोग गर्नुपर्ने बताउनुभयो ।
बर्खा सकिएपछि प्राविधिक अध्ययन गर्ने र वैकल्पिक बाटो निर्माण गर्नुपर्ने देखिएमा नयाँ बाटो सुचारु गर्ने जिल्ला विकास समितिको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया