भीमदत्तनगर, ३० साउन । यार्सागुम्बा सङ्कलन गर्ने बहानामा बझाङमा वन्यजन्तु चोरीसिकार गर्ने क्रम बढेको छ ।
अनियन्त्रित र अव्यवस्थित सङ्कलनका कारण यार्सा कम पाइन थालेपछि वन्यजन्तु मारेर तिनका अङ्ग र सुकुटी व्यापारमा स्थानीय लागेका छन् । बझाङको उत्तरी भेगस्थित काँडा गाविस वन्यजन्तु तस्करको व्यापारिक अखडा बनेको छ । यो क्षेत्र डाँफे, झारल, घोरल, कस्तुरी, हिउँ चितुवा, कालो भालु, नाउरको मुख्य बासस्थान हो ।
तिब्बतसँग सिमाना जोडिएको यो क्षेत्रमा प्रहरी र स्थानीय प्रशासनको मजबुत उपस्थिति छैन, जसको फाइदा उठाउँदै वन्यजन्तुका अङ्ग र सुकुटी तिब्बत निकासी हुने गरेका छन् । यार्सा सङ्कलन गर्ने मौसम भएकाले यतिबेला काँडाको काँकरकोटदेखि साइपाल हिमालको फेदी राइढुङ्गीसम्म बाटोभरि अस्थायी होटल र पसल सञ्चालन भएका छन् ।
यस क्षेत्रमा स्थायी मानवबस्ती भने छैन । यार्सा बटुल्ने याम अर्थात् जेठ पहिलो सातायता यहाँ भीड लाग्छ, जुन असार अन्तिमसम्म कायम रहन्छ । यार्सा सङ्कलकबाहेक अन्यले भदौसम्म तिब्बत र हुम्लासित व्यापार गर्छन् । भदौपछि भने बाक्लो हिमपात हुन्छ । राइढुङ्गीदेखि उरै भञ्ज्याङ वरको धुली गाउँ पुग्दा बाटोका अस्थायी होटल सञ्चालकले वन्यजन्तु खुलेआम मारिरहेको देखिन्छ ।
वन्यजन्तुको मासु सुकुटी बनाउन घाममा छरपष्ट सुकाइएका हुन्छन् । केही वर्षयता यार्सा सङ्कलनमा भन्दा सुकुटी व्यापारमा आकर्षण बढेको काँडा–२ का एक होटल व्यवसायीको भनाइ छ । राइढुङ्गीदेखि काँडाको धुली पुग्न दुई दिन पैदल हिँड्नु पर्छ ।
यसैबीच माजा, बाँचौका, काँडा र धुली गाउँ छन् । यहाँका बासिन्दाको मुख्य व्यवसाय भेडापालन हो । विष खाएर र रोग लागेर बर्सेनि सयौँ भेडा मर्छन् । ती सबैको मासु सुकाएर सुकुटी बनाइन्छ र बिक्री गरिन्छ । भेडाबाख्राको सुकुटीसँगै अन्य वन्यजन्तुको सुकुटी पनि बिक्री हुने स्थानीय बताउँछन् ।
जिल्ला वन अधिकृत रमेशबहादुर चन्दले दुर्लभ वन्यजन्तुको सिकार नगर्न स्थानीय बासिन्दालाई आग्रह गरिने र सुधार नआएमा त्यस्ता कार्यमा संलग्नलाई कडा कारबाही गरिने बताउनुभयो ।
प्रतिक्रिया